arrow

तिलोत्तका नागरिक घरभित्र, ठेकेदार खोला र बस्तीमा 

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ ५ बुधबार
tilotama-jcb.jpg

रुपन्देही । यती वेला नागरिक कोभिड महामारीबाट बच्नका लागि गरिएको निषेधाज्ञा नियममा घरभित्र थुनिन पुगेका छन् । कसरी बाँच्ने, र अरूलाई कसरी बचाउन सकिन्छ भन्ने उपाय खोज्ने प्रयत्न भइरहेका वेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने, नदीजन्य पदार्थ उत्खनन ठेक्का लगाएको छ ।

नगरवासीलाई कोरोना सङ्क्रमण पछि अस्पताल जानलाई एम्बुलेन्सको अभावमा ज्यान गुमाउन नपरोस् भनी केही दिन अगाडि आफू चढ्ने गाडी एम्बुलेन्स बनाउन दिएका तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले वैशाख १५ गते वाट नदीजन्य पदार्थ उत्खननका लागि नगरभित्र पर्ने सुखौरा खोलामा ठेक्का खुलाएको पाइएको हो ।

जबकि, कोरोना महामारीले उक्त नगरपालिका भित्र धेरै जनाको ज्यान लिई रहेको छ । नागरिकलाई कोरोनाले थिलथिलो बनाएको स्वास्थ्य अवस्थालाई कसरी बचाउन सकिन्छ भन्ने तर्फ ध्यान दिने वेला, उल्टै वेला वेला लोकप्रियता कमाउनका लागि केही न केही न गर्दै आएका तिलोत्तमा नगरप्रमुखले नागरिक घरभित्र बसेका वेला ठेकेदारलाई खोला उत्खनन गर्न खोला र बस्तीमा पठाएको पाइएको हो ।

तिलोत्तमा नगरपालिका वडा नं.८ स्थित पर्ने करहिया सामुदायिक वन उपभोक्ता समूह र शङ्कर नगर सामुदायिक वन उपभोक्ता समूह भित्र रहेको सुखौरा खोलामा ठेक्का लगाइएको छ । जहाँ, सुरु भएदेखि हाल सम्म नगरपालिकाका इन्जिनियर गिरीराज डुम्रे २ पटक मात्रै अनुगमनमा गएको फेला परेको छ ।

इन्जिनियर डुम्रेले हाम्रा कुरासँगको कुराकानीमा भने, 'कोभिड महामारीमा जहाँतहीँ हिँड्न पनि जोखिम छ । यता कोभिड आइसोलेसनमा पनि धाउनु पर्छ । यही वेलामा खोला ठेक्का पनि लागेको छ। २ पटक गएको छु, त्यसपछि गएको छैन ।'

३ लाख २९ हजार घनफूट निकासी गर्न पाएको सिद्धार्थ नगरपालिका वडा नं.१२ स्थित रहेको शुभ लक्ष्मी कन्स्ट्रक्सन प्रालीले बस्ती नजिक नदीजन्य पदार्थ थुपारेको छ । जुन जग्गा सरकारी स्वामित्व भित्र पर्दछ । अर्को एक ठाउँमा राख्दा स्थानीयले विरोध जनाएपछि, थुपार्न नपाएको पाइएको छ ।

यता, ठेक्का प्रक्रिया भने, ठेकेदार पक्षले टेन्डर गर्दा, उक्त पदार्थ राख्ने स्थान सरकारी जग्गामा राख्न नपाउने र व्यक्तिको जग्गामा राख्ने भएमा कागजात पेस गर्नुपर्ने प्रावधान छ । यस विषयमा थप जानकारी लिन नगरपालिकाका सूचना अधिकारी प्रदीप खनाल र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई पटक पटक सम्पर्क गर्दा फोन उठेन ।

बिहान सूर्योदय देखि साँझ सूर्यास्तसम्म उत्खनन गर्न पाइने भए पनि त्यसको अनुगमन प्रभावकारी हुन सकेको छैन । बोधार्थमा उल्लेख भएका सङ्घसंस्थाहरू पनि एक पटक भन्दा अर्को पटक गएका छैनन् ।

 तिलोत्तमा ११ का एक स्थानीयले भने, 'हामी कोभिडबाट बच्न घरमा छौँ, खोलामा के के भएको छ, सङ्क्रमणको डरले जान पाएका छैनौँ, यस्तो वेलामा नगरपालिकाले ठेक्का लगाउनु गलत हो ।' उनले प्रश्न गरे, 'नागरिकले जवाफ खोजेका छन्, महामारीमा नागरिक घरभित्र बसेका वेला, ठेकेदारको जत्था बस्तीमा पठाउने हामीलाई कोरोना सर्ने डर हुँदैन र ?' 

यस्तै, ३ वटा एक्स्काभेटर र अन्य टिपरहरू खोलामा लगाइएको छ । टिपरको भने सङ्ख्या खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
नयाँ