रुपन्देही । विकास निर्माणको नाममा हरेक वर्ष स्थानीय नदी एवं नदीमा नदीजन्य पदार्थ ठेक्का लगाउने प्रवृत्ति नयाँ होइन । विकासका काम गर्दा नदजन्य पदार्थ नभई नहुने भएकाले सो पदार्थको निकासी खुलाइन्छ । हरेक वर्ष । तर, पछिल्लो समय महामारी रूपमा फैलिएको कोरोनाले नागरिक घरभित्र थुनिएका वेला रुपन्देहीमा भने नदी दोहनको नाङ्गो नाच देखाइएको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका नदीहरूमा प्रक्रिया पुरा गरेर उत्खनन गर्ने अनुमति पाए पनि मनपरी रूपमा नदजन्य पदार्थ उत्खनन सम्बन्धी नियमावलीलाई उलङ्घन गर्दै खुलेआम रूपमा नदी दोहन कार्य चल्दै आएको छ । यती मात्रै होइन, स्थानीय तहले समेत विना टेन्डर आफूखुसी सामाजिक कार्यमा भन्दै निर्बाध रूपमा तिनाउ नदिको पानी बग्ने बहावबाटै उत्खनन गरिरहेको छ । उक्त स्थानीय तह हो तिलोत्तमा नगरपालिका ।
लुम्बिनी प्रदेशले तयार पारेको नदजन्य पदार्थ व्यवस्था कार्यविधिलाई हेर्ने हो भने, कुनै पनि स्थानीय तहले नदजन्य पदार्थ ठेक्का लगाउनु परेमा सूचना प्रकाशन सम्बन्धमा स्थानीय कार्यपालिका बाट स्वीकृत कार्य योजना र जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले सिफारिस गरेको नदी, नदी, खहरे खोल्सी र नदी उकास क्षेत्रबाट वार्षिक उपलब्ध हुने नदीजन्य पदार्थको प्रकृति र परिमाण निश्चित गरी प्रदेश सरकार बाट तोकिएको दरको आधारमा अनुमानित आय तयार गरी स्वीकृत गर्नु पर्ने उल्लेख छ ।
नगरपालिका भित्र पर्ने सुखौरा नदी वाट पनि तिलोत्तमा नगरपालिकाले अस्थायी आइसोलेसन अस्पतालको खाडल पुर्न भनी, ईआईए गरेको भन्दै, विना टेन्डर नदजन्य पदार्थ उत्खनन गरेको थियो । विना टेन्डर उत्खनन गर्न नपाइने प्रदेशको नीतिलाई तिलोत्तमा नगरपालिकाले धज्जी उडाएको छ ।
यसरी विना टेन्डर उत्खनन गरेमा मिलेमतोमा कमिसन खाएको र सरकारी राजस्व समेत छली भएको मानिने उक्त कार्यविधिमा जनाइएको छ । जिल्लाका बुटवल, तिलोत्तमा, सैनामैना र देवदह लगायतका स्थानीय तहले केही ठाउँमा ठेक्का लगाएको र जिल्ला समन्वय समितिको प्रभावकारी भूमिका नभएकाले नदी जन्य पदार्थको चोरी तस्करी बढ्दै गएको नदी छेउमा बस्ने स्थानीयहरूले बताएका छन् ।
ठेक्का लगाउने तर अनुगमनलाई प्रभावकारी नबाउने स्थानीय तहको रवैयाले उत्खनन हुँदै आएका स्थानले पुल, तटबन्ध र बस्ती पहिरोको जोखिममा रहेका छन् । चोरी तस्करी र अवैध रूपमा भइरहेको उत्खनन बारे जानकार भए पनि जिल्ला समन्वय समितिले त्यति चासो नदिँदा स्थानीय तहको अवैध उत्खनन अझै रोकिन पुगेको छैन ।