राप्रपाको प्रश्न : महामारीका बीच चुनावमा कसरी जाने ?
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
158
Shares
फाइल तस्बिर
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना महामारीका बिचमा निर्वाचनमा जान नसकिने बताएको छ। राप्रपाले कोरोना नियन्त्रण नभएसम्म निर्वाचन हुन नसक्ने बताएको हो।
आइतबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमार्फत राप्रपाले महामारी नियन्त्रण नभएसम्म स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको हो।
‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ, यस्तो डरलाग्दो महामारीका बिच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ राप्रपाले बैठकबाट पारित प्रस्तावमा भनेको छ, ‘कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन।’
राप्रपाले बैठकको निर्णयमा जनताको अभिमत र शक्तिबाटै राजनीतिक कमजोरी र विकृति समाधान गर्न सकिने तथा राप्रपा सिद्धान्त तः चुनावका पक्षमा रहेको तर सो सन्दर्भमा संविधान, विधि र कानुनको पुनर् पालना र सम्मान हुनु पर्ने केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा बैठकपछि जारी पत्रमा भनिएको छ।
यो समय राज्यको सम्पूर्ण शक्ति र स्रोत कोरोना महामारी नियन्त्रण गर्नतर्फ लगाउन र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि बैठकमार्फत राप्रपाले सरकारसँग माग गरेको छ।