झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संघीयताको बोझ नेपाली जनताले धान्न नसक्ने बताएका छ्न ।
झापा क्षेत्र नं. ५ क्षेत्रिय समितिद्वारा गौरीगंजमा शनिबार आयोजित दमक-गौरिगन्ज वृहत मोटरसाइकल र्यालीको समापन कार्यक्रममा अध्यक्ष थापाले धर्मनिरपेक्षता नेपालको धार्मिक सामाजिक र सांस्कृतिक परिवेश अनुसार चल्न नसकेको बताए ।
उनले धार्मिक सामाजिक र सांस्कृतिक परिवेशमा धर्मनिरपेक्षा एउटा महारोग साबित हुने उद्घोष गरे । थापाले अब देशमा संवैधानिक राजासहित हिन्दुराष्ट्रको कुनै विकल्प नरहेको बताए ।
‘अब ‘हामीले राजा आउ देश बचाउ भन्ने होइन, जनता आउ राजा ल्याउ, जनता आउ, हिन्दु राष्ट्र ल्याउ भन्ने हो, राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने हो,’थापाले भने ।
अर्को प्रसङ्गमा २००७ सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याएको स्मरण गराउँदै थापाले राजा र जनताको साझा प्रयासबाट देश बनाउने काममा सबै नेपाली एकजुट भइ अघि बड्नुपर्ने बताए ।
नेकपा भित्रको आन्तरिक कलह र घर झगडाका कारण प्रतिनिधि सभाको विघटन भएकोले कम्युनिस्ट सरकारले लोकतान्त्रिक गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको टिप्पणी गरे ।
राप्रपा झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष विजय बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेन, केन्द्रिय सदस्य टेकनारायण राजवंशी, प्रदेश नं.१ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट लगायतले सभालाइ सम्बोधन गरेका थिए । जिल्ला सदस्य तथा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले कार्यक्रमलाई स्वागत गरेका थिए ।