प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य : पशुपति शमशेर
प्रकाशित २०७७ फागुन १५ शनिबार
222
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले प्रजातन्त्र जोगाउन दलभन्दा माथि रहने राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य भएको बताएका छन्। नैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल नहुने, विकास र समृद्धि प्राप्त नहुने राप्रपा अध्यक्ष राणाले बताए। देशको राजनीतिमा नैतिक पतनको प्रश्न पेचिलो बन्नु चिन्ताको विषय भएको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखको रूपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ। पछिल्लो घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ,’ अध्यक्ष राणाले शनिवार राप्रपानिकट युवा सङ्गठनको भेलालाई सम्बोधन गर्दै भने।
साम्यवादी पार्टीले जनादेश विपरीत काम गरेको भन्दै राणाले सत्तारुढ नेकपाको खरो आलोचना गरे। नेकपा नेतृत्वको सत्ता केन्द्रित स्वार्थको कारण देश, संविधान सङ्कट उन्मुख रहेको उनको भनाइ थियो। सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नु पर्दछ, राणाले भने।
प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नु पर्नेमा उनले जोड दिए।
अर्का अध्यक्ष कमल थापाले आसन्न सङ्कट दूर गर्न युवाहरू नेतृत्वमा आउनु पर्ने विचार राखे। वर्तमान सङ्कटका लागि काँग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको उनको जिकिर थियो।