काठमाडौं । कोरोना भाइरस संक्रमित वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । गत बैशाख २६ गतेदेखि वीपी स्मृति अस्पतालमा उपचाररत शाक्यको ६४ वर्षको उमेरमा निधन भएको हो ।
सांस्कृतिक संस्थानबाट सेवानिवृत वरिष्ठ गायक शाक्य रेडियो नेपालका विशिष्ट श्रेणीका गायक थिए । शाक्यले जापान, हङकङ, बैंङ्कक, तिब्बत, श्रीलंका, बंगलादेश र साउदी अरेबिया लगायतका देशमा सांगीतिक प्रस्तुति दिएका थिए । शाक्यले पाँच वटा गीति संग्रहसहित २५० भन्दा बढी गीत गाएका थिए ।
उनले रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक–गायिका र अर्को कोठामा प्रविधि र प्राविधिकका साथ बसेर तीन दशकअघि नेपालभाषाको ‘मतिना’ रेकर्ड गराएका थिए ।