काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा ३१ जेठ महिनाभर थप थप गरिएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर संचालनमा गत साता लगाइएको रोकलाई खुला गर्दै निषेधाज्ञालाई ३१ जेठसम्म पुर्याइएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले तीनै जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गर्ने निणर्य भएको बताए । उनले अब किराना तथा खाद्य पसल र डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खोल्न पाइनेसमेत जानकारी दिए ।
‘जारी निषेधाज्ञालाई जेठ महिनाभर लागू गर्ने र किराना तथा खाद्य पसल, डिपार्टमेन्टल स्टोर संचालन गर्न खुला गर्ने निर्णय भएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।
यसैगरी निर्माण क्षेत्रमा काम रोकिएकाले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम गर्न दिनेसमेत निणर्य भएको छ । यसरी काममा संलग्न हुने कामदारहरु कार्यरतस्थल भन्दा बाहिर जान पाउने छैनन् भने उनीहरुलाई खाने बस्ने व्यवस्था निर्माण कम्पनीले नै गर्नु पर्ने छ । यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा चल्न पाउने छन् ।
कोरोना संक्रमणदर उच्च भएपछि गत १६ बैशाखबाट उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा कायम छ । प्रसासनले जारी निषेधाज्ञामा जथाभावी घरबाट बाहिर निस्कन नपाइने गरी रोक लगाएको छ भने सवारी साधन संचालनमा पनि रोक लगाइएको छ ।
पछिल्लो पटक सरकारले कोभिड-१९ अध्यादेश २०७८ ल्याएपछि प्रसासनले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइसमेत गर्दै आइरहेको छ ।
अध्यादेश अनुसार अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने उल्लेख छ । अनुमतिबिना सवारी चलाएको भेटिएमा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिवाना लिन सकिने जिल्ला प्रसासन कार्यालय काठमाडौंद्धारा यसअघि जारी सूचनामा उल्लेख छ ।
निषेधाज्ञाको आदेश व्यक्तिले उलंघन गरेमा प्रमुख जिल्ला अधिकारी तत्काल एक लाख रुपैयाँसम्मा जरिवाना गर्न सक्ने छन् भने संस्थाले उलंघन गरेमा पाँच लाख रुपैयाँ जरिवाना गराउन सक्ने छन् ।
यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकै पिच्छे एक सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ भने हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ जरिवाना गराउन सकिने उल्लेख छ ।
यस्तै खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइएमा प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ । यसबाहेक अध्यादेश बमोजिम जारी भएका मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने भनिएको छ ।
उपत्यकामा यसअघि २० जेठसम्मका लागि निषेधाज्ञा कायम गरिएको थियो । निषेधाज्ञामा तरकारी तथा दुधजन्य पदार्थका पसल फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने संचालनमा रोक लगाएको थिएन । यस्ता पसल विहान ९ बजेसम्म खोल्न दिइने निर्णय भएको थियो ।
यसअघि ३० बैशाखमा निषेधाज्ञा थप गर्दै दुई साता बढाइएको थियो भने त्यसअघि २२ बैशाखमा एक साता थप गरिएको थियो ।