मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचार गरियो: मन्त्री महतो
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
492
Shares
काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचार प्रसार भएकोमा दुःख ब्यक्त गरेका छन् । शनिबार राति एक विज्ञप्ति जारी गर्दै आफू राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध रहेको जनाएका हुन् ।
उनले भनेका छन्,‘मैंले संविधानको धार ३ मा उल्लेख भएबमोजिम, बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधता रहेका समान आकाक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको शुत्रमा आबद्ध सबै नेपाली समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समूदाय, धर्म, लिङ्गको साझा राष्ट्र हो भन्ने आशय ब्यक्त गरेको हुँ ।’
सरकारमा सहभागि भएलगत्तै महतोले शुक्रबार ‘बहुल राष्ट्र राज्य’ स्थापना गर्ने पार्टीको एजेन्डा भएको र त्यसलाई अघि बढाउनकै लागि सरकारमा सहभागी भएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर उनको विरोध शुरु भएको थियो ।