काठमाडौँ । सरकारको निर्णय विरुद्ध उत्रिए नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघ महामन्त्री दीपक भट्टराई सहित नौ जना विद्यार्थी नेता कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित किशोर गुरुङ, धर्मराज शाही , परोपकार अधिकारी, सन्तोष आले, सुदर्शन पनेरू, दीपेन्द्र ढकाल, सुमन थापा मगर, हिक्मत शाही रहेका छन् ।
नेविसंघले प्रधानमन्त्री केपी ओलीले गरेका पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौँको गोगंबुमा प्रदर्शन गरेको थियो । विद्यार्थीहरूले चुरे दहन, उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति र मूल्य वृद्धिको विरोध गरेका थिए ।
प्रदर्शनका क्रममा नेविसंघले ‘प्रभुलाई भेटी चुरेको गिट्टी’ नारा लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रदर्शनमा ९ जना नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएर चक्रपथ प्रहरी कार्यालयमा राखेको नेविसंघ महामन्त्री भट्टराईले बताए ।