काबुल। पाकिस्तान सरकारले कोरोना महामारी नियन्त्रका लागि भन्दै अफगानिस्तानबाट हुने उडानहरूमा ८० प्रतिशत कटौती गरेको छ। तर अफगान उड्डयन प्राधिकरणले भने इस्लामावादले दुई देशहरू बीचको द्विपक्षीय सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ।
अफगानिस्तान नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता मोहम्मद नईम सालेहीले पाकिस्तानले अफगानिस्तानका अधिकारीहरूसँग परामर्श नगरी एकतर्फी निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले पाकिस्तानले गरेको एकतर्फी निर्णयले द्विपक्षीय सम्झौताको उल्लङ्घन गरेको दाबी गरेका छन्।
पाकिस्तानले कोभिड १९ को प्रकोप बढ्न सक्ने सम्भावनालाई नियन्त्रण गर्नका लागि यस्तो गरेको बताएका छन्। यदि पाकिस्तानले आफ्नो निर्णयमा जोड दिन्छ र समस्या समाधान हुँदैन भने अफगान सरकारले पनि यस्तै कदम चाल्ने सोलहीले बताएका छन्।
यसको मतलब पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को उडानहरू पनि सीमित हुने उनले बताए। उनले अफगानिस्तान सरकारले समस्याको समाधानका लागि पाकिस्तानी सरकारसँग छलफल गरिरहेको बताएका छन्।
महामारीको भाइरसको फैलावटदेखि नै पाकिस्तानले अहिलेसम्म धेरै पटक अफगानिस्तानसँग आफ्नो क्रसिंग प्वाइन्टहरू बन्द गरिसकेको छ। पछिल्लो समय अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारले पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको आरोप लगाएपछि दुई पक्षीय सम्बन्ध तनावपूर्ण बनेको अफगानिस्तान टाईम्सले लेखेको छ।