मोरङमा तरुण दलको फुड बैंकः हुनेले दिएर जाने नहुनेले लिएर जाने
विवेक मिश्र,
प्रकाशित २०७७ भदौ ८ सोमबार
290
Shares
बेलबारी । लकडाउनमा कोहिपनि भोकै बस्नु नपरोस् भन्ने उदेश्यका साथ नेपाल तरुण दल केराबारी मोरङले फुड बैंक संचालनमा ल्याएको छ । हुनेले खाना दिएर जाऔं र नहुनेले खाना लिएर जाऔँ भन्ने नाराका साथ नेपाल तरुण दल केराबारीले फुड बैंक शनिवारदेखी संचालनमा ल्याएको हो ।
केराबारी गाँउपालीका भवन अगाडि दाल, चामल, नुन, तेल र सोयाविन राखीएको छ । निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई कोरोना संक्रमणका कारण भएको लकडाउनको कारण समस्यामा परेपछि कोहिपनि भोकै बस्नु नपरोस् भनेर नेपाल तरुण दल केराबारीले यस्तो अभियान संचालन गरेको तरुण दलका केराबारी सभापति पप्पु शाहले बताए । शाहका अनुसार हालसम्म १८ जनाले दिएर सहयोग गरेका छन् भने ३९० जनाले उक्त खाद्य सामग्री लिएर गएका छन् ।
प्रति परिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाउनेछन् । छोटो समयमा नै यो अभियान निकै प्रभावकारी बन्दै गएको स्थानीय यज्ञ पोख्रेलले बताए ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाल तरुण दल केराबारी गाउँपालिकाले गरेको अभियानको प्रशंसा गर्दै देशभरका तरुण कार्यकर्ताहरुलाई आआफ्नो स्थानमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।