काठमाडौं । कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमणले थलिएको बेलायतमा फेरि लकडाउन लगाइएको छ । प्रधानमन्त्री बोरिस जोनसनले टेलिभिजनमार्फत सम्बोधन गर्दै पुनः लकडाउनको घोषणा गरेका हुन् ।
उनले सम्वोधनमा भनेका छन्, ‘सबै अनिवार्य रुपमा घरमै बसौं । कोरोनाको नयाँ स्वरुप आएकाले मध्य फेब्रुअरीसम्म घरमै बसौं ।’
मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द भएका छन् । परीक्षा समेत रोकिएको छ । जोनसनले आगामी हप्ता सबैभन्दा खतरापूर्ण हुने भन्दै बिरामीहरुको संख्या समेत बढिरहेको बताएका छन् ।
उनले आगामी महिनाको मध्यसम्म शीर्ष चार प्राथमिकतामा परेका समूहलाई पहिलो चरणको कोरोना खोप लगाइसकिने पनि बताएका छन् ।
उनले यो अन्तिम चरणको संघर्ष भएको पनि बताएका छन् । सोमबार मात्रै बेलायतमा ५८ हजार ७८४ जना संक्रमित थपिएका छन् भने ४०७ जनाको ज्यान गएको छ ।
यसअघि गत वर्षको मार्च २३ बाट शुरु भएको लकडाउन तीन महिनाभन्दा लामो समय चलेको थियो । दोस्रो चरण नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म चलेको थियो । तर केही क्षेत्रगत प्रतिवन्धहरु मात्र लगाइएको थियो ।
यसपटक देशव्यापी लकडाउन लगाइएको हो । कोरोनाका संक्रमित तीव्र भएसँगै सेना नै परिचालन गरेको छ । सरकारले भाइरस परीक्षणका लागि ५ हजार भन्दा बढी सेना परिचालन गरेको हो ।
यो लकडाउन गत मार्चकै स्टाइलको कडा लकडाउन हो । कसैलाई घर बाहिर निस्कनु पर्यो भने पाँच वटाच विशेष कारण खुलाउनु पर्नेछ । रिटेलहरु सबै बन्द भएका छन् । अल्कोहल बेच्न प्रतिवन्ध लगाइएको छ ।