arrow

युरोपमा एकाएक किन रोकियो खोप अभियान ?

बेलायतको नयाँ भेरियन्ट बढी संक्रामकसँगै प्राणघातक पनि !

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
corona-vaccine-covid19.jpg

काठमाडौं । युरोपेली संघ (ईयु)का विभिन्न देशमा खोप अभियान स्थगीत भएको छ । नयाँ स्वरुपको कोरोना भाइरसका कारण संक्रमण, अस्पताल भर्ना हुने र मृत्युदर बढ्दै गइरहेका बेला ईयुमा खोप अभियान रोक्नु पर्ने स्थिती बनेको हो ।

ईयु अन्तर्गतका २७ देशमध्ये कतिपय देशमा फाइजर–बायोएनटेकले यो हप्ता सम्झौता गरेभन्दा झण्डै आधा कम खोपमात्रै डेलिभरी गर्न सक्ने बताएको छ ।यसरी खोप मात्रामा कटौती गरेपछि ईयुका नेताहरुले खोप कटौती गर्न नमिल्ने भन्दै कानुनी बाटो खोज्ने बताएका छन् ।

फाइजर पछि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पनि भनेजति डेलिभरी गर्न नसक्ने जानकारी दिएका छन् । कति खोप कटौती हुन्छ भन्ने कुनै जानकारी नदिई एस्ट्राजेनेकाले खोपको मात्रा कटौती हुने मात्रै जानकारी दिएको हो ।

दुई ठूला खोप उत्पादक कम्पनीहरुले सुरुमा भनेजति खोप दिन नसक्ने भनेपछि ईयुको खोप अभियानमा नै ढिलाई हुने भएको हो ।

ईयुका अधिकारीहरुले दुवै कम्पनीको यो निर्णयको घोर विरोध गरेका छन् । ईयुले एस्ट्राजेनेकाको खोपलाई अहिलेसम्म अनुमति भने दिएको छैन् ।

तर, आउँदा दुई साताभित्रमा अनुमति दिँदै खोप लगाउँन थाल्ने ईयुको तयारी भएको बताइएको छ । तर, खोप कटौती हुने भनेपछि अधिकारीहरुले विरोध गरेका हुन् ।

ईयुले २७ वटै देशमा एकैपटक खोप अभियान चलाउँने लक्ष्य राखेको छ । तर, देशहरुले छुट्टा छुट्टैरुपमा पनि खोप दिन थालेका छन् ।

हंगेरीले रुसी खोप स्पतुनिक पाँच पनि आफ्ना नागरिकहरुलाई दिने तयारी गरेको छ । हंगेरीले २० लाख रुसी खोप किन्ने बताएको छ ।

ईयुले सन् २०२१ को समरभित्र (अगस्तसम्म) ७० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । मार्चभित्रै ८० प्रतिशत स्वास्थ्यकर्मी र जोखिम अवस्थाका नागरिकहरुलाई खोप लगाइसक्ने आसा राखेको छ ।

तर, फाइजरले खोप कटौती गर्दा र एस्ट्राजेनेकाले भनेजति खोप उत्पादन गर्न नसक्ने बताएपछि ईयुको यो लक्ष्य पूरा हुनेमा आशंका देखिएको छ । ईयुको जनसंख्या करिब ४५ करोड रहेको छ ।

नयाँ भेरियन्ट प्राणघातक पनि !
बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुप बढी प्राणघातक पनि रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिंग स्ट्रिट ब्रिफिङमा बोल्दै बेलायतमा सुरुमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट बढी संक्रामकसँगै अहिले बढी प्राणघातक पनि देखिएको बताएका हुन् ।

इङ्गल्याण्डको जनस्वास्थ्य, इम्पेरियल कलेज लण्डनलगायतले नयाँ स्वरुपको भाइरस कति खतरनाक छ भनेर अध्ययन गरिरहेका छन् ।

यथेष्ट प्रमाण नभएपनि एक अध्ययनबाट ३० देखि ७० प्रतिशत बढी संक्रामक रहेको नयाँ भेरियन्ट ३० प्रतिशत बढी  प्राण घातक पनि देखिएको हो ।

बेलायत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्सले यो पुष्टि गर्न पर्याप्त प्रमाण भने नरहेको बताएका छन् ।उदाहरणका लागि, १ हजार जना ६० वर्ष उमेर समुहका व्याक्ति पूरानो स्वरुपबाट संक्रमण भएभने तीमध्ये १० ले ज्यान गुमाइरहेका छन् भने नयाँ भेरियन्ट भाइरसबाट संक्रमण भयो भने १३ जनाले ज्यान गुमाइरहेका छन् ।

नयाँ स्वरुप बढी संक्रामक र प्राणघातक देखिएको अवस्थामा खोपको मात्रामा कम्पनीहरुले कटौती गर्दा ईयुका अधिकारीहरु रुष्ट बनेका छन् । जमर्नीले कतिपय स्थानमा खोप अभावका कारण पहिलो चरणको डोज लगाउन नै रोकेको छ ।

पोल्याण्डले खोपको मात्रा कटौती गरेकामा कानुनी बाटो खोज्ने चेतावनी समेत दिएको छ । युरोपियन युनियनका अध्यक्ष चाल्र्स मिशेलले अधिकारीहरुले भविष्यमा खोप डेलिभरीमा ढिलाई हुन नदिन बिचार गरिरहेको बताएका छन् ।

यसबीच ईयुका नेदरल्याण्ड, फ्रान्स लगायतका देशहरु संक्रमण बढ्दै गइरहेको भन्दै आगमन एवं भ्रमणमा प्रतिबन्ध लगाइरहेका छन् । खोप अभियानमा ढिलाइ हुन नदिन भरपूर कोसिममा ईयुका अधिकारीहरु लागि परेका छन् । जुनसुकै हालतमा पनि अगस्तसम्म ७० प्रतिशत जनसंख्यालाई खोप दिने लक्ष्यमा ईयु अडिग रहेको छ ।
 



लोकप्रिय समाचार
नयाँ