काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ७० हजार ७४५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३३३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ ।
अहिले देशभर तीन हजार २२ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १११ जना क्वारेन्टिनमा रहेका छन् । एक हजार २४९ जना होम आइसोलेसनमा छन् भने १४७ जनाको आकस्मिक र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।हालसम्म २० लाख ६४ हजार ८१ को पिसिआर परीक्षण भएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।