काठमाडौँ । शुक्रवार थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ । थप दुई हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ८८ हजार ३७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६७ हजार ६५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २७२ संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ ।
हाल देशभर दुई हजार १०८ सक्रिय संक्रमित रहेका छन् । हाल ९२ संक्रमित क्वारेनटिनमा छन् । यस्तै ६४ संक्रमित आइसियुमा तथा १३ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय थपिएका कोरोना संक्रमितमा प्रदेश नं १ को झापामा एक, तेह्रथुममा एक, मोरङमा एक र सुनसरीमा एक, प्रदेश नं २ को रौतहटमा एक, वाग्मती प्रदेशको काठमाडौँमा ४३, काभ्रेपलान्चोकमा एक, चितवनमा पाँच, धादिङमा एक, भक्तपुरमा तीन र ललितपुरमा १२, गण्डकी प्रदेशको कास्कीमा नौ, नवलपरासीपूर्वकमा एक र लमजुङमा एक, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा दुई, कपिलवस्तुमा एक, गुल्मीमा एक, दाङमा सात, पाल्पामा तीन, प्युठानमा एक, बर्दियामा दुई र रुपन्देहीमा चार कर्णाली प्रदेशको सुर्खेतमा एक तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एक र कैलालीमा दुई जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या दुई हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।