बेलायतमा मङ्गलवार कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु
रासस-सिन्ह्वा
प्रकाशित २०७७ माघ २८ बुधबार
122
Shares
लण्डन। बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भाइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।
यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात महिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ ।लायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मङ्गलवार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढिरहेका समाचारहरु आइरहेका छन् ।
मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रूपमा कमी आउन भने सकेको छैन ।
यहाँ नयाँ स्वरूपको भाइरसको संक्रमण शुरु भएको केही हप्ता अघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रूपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरूले दिएको जानकारी अनुसार गएको २४ घण्टामा १२ हजार ३६४ जना संक्रमित थपिएका छन् ।
यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्को एक समाचारमा बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।