काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिको बुधबार (माघ २८ गते) बसेको ३६७ औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा शर्मालाई नियुक्त गरेको हो ।
शर्माले यसअघि माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । शर्माको बैकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।
शर्मा चार वर्षका लागि सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
को हुन् शर्मा ?
अर्घाखाँची जिल्लाको पालीमा ८ स्थायी ठेगाना भई हाल काठमाडौ जिल्ला, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८, गोठाटार बस्ने शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसकेपछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गरेका थिए ।
सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डस्को मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता पनि हुन् ।
नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए ।