काठमाडौं । जुनियर टेनिस खेलाडीहरुको उत्साह थप्नका लागि अभिभावकहरु मिलेर खोलिएको टिम टेनिस नेपालले आइतबारदेखि जुनियर प्रिमियर टेनिस प्रतियोगिता आयोजना गर्दैछ ।
फागुन २ देखि ७ गतेसम्म आयोजकले आफैले निर्माण गरेको ललितपुरको धापाखेलस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
यु–९ उमेर समूहमा ब्याइज–गल्र्स सिंगल र डबल्स खेल हुनेछ । यो उमेर समूहमा डबल्स प्रतिस्पर्धा नेपालमै पहिलो पटक हुन लागेको हो ।
त्यसबाहेक बाँकी उमेर समूहमा ब्वाइज–गल्र्सको सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यु–८ देखि यु–१६ मा सहभागीहरुको खुल्ला डबल्स प्रतिस्पर्धा पनि राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब १२९ खेलाडीको सहभागीता रहने टेनिस टिम नेपालका अध्यक्ष अजय विष्टले बताएका छन् ।