गौरिका र मन्देकाजी सर्वोत्कृष्ट, यी हुन् २६ खेलका उत्कृष्ट
प्रकाशित २०७७ फागुन ९ आइतबार
207
Shares
काठमाडौं । पौडी खेलाडी गौरिका सिंह र कराते खेलाडी मन्देकाजी श्रेष्ठले ‘एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २६ खेलाडीमध्येबाट गौरिका र मन्दे सर्वोत्कृष्ट ठहरिएका हुन् । सर्वोकृष्ट चुनिएसँगै गौरिका र मन्देले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे । दुबैले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई ुएनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीु अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार रुपैयाँ नगद प्राप्त गरे ।
कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए । शाहले ३५ हजार प्राप्त गरे । यस्तै शाहले पुरस्कारको रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरेका थिए ।
पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले प्राप्त गरे । एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशन सिंह राउत सम्मानित भए । उनले २५ हजार प्राप्त गरे ।