काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । कोरोना भाइरसको खोप द्रूत गतिमा लगाइरहेको भारतमा लापरबाहीका कारणले नै कोरोना फैलिएको भन्दै चिन्ता गर्न थालिएको छ ।
बुधबार मात्रै १६ हजार ७३८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी ११ हजार ७९९ डिस्चार्ज भएका छन् भने १३८ जना को ज्यान गएको छ ।
अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड १० लाख ४६ हजार ९१४ पुगेको छ । त्यस्तै १ करोड ७ लाख ३८ हजार ५०१ जना डिस्चार्ज भएका छन् ।
मृतकको संख्या १ लाख ५६ हजार ७०५ रहेको छ । हाल भारतमा १ लाख ५१ हजार ७०८ जना सक्रिय संक्रमित छन् ।
महाराष्ट्रमा फेरि संक्रमित बढेका छन् । बुधबार बढेका संक्रमितमा आधा जति महाराष्ट्रका हुन् । त्यसैगरी २५ प्रतिशत जति केरलका हुन् ।
यी दुवै राज्यमा कोरोना बढिरहँदा अन्य क्षेत्रमा भने कम हुँदै गएको छ । भारतको राजधानी दिल्लीमा हाल १ हजार १३७ जना सक्रिय संक्रमित छन् भने नेपालको सीमा जोडिएको बिहारमा ५०३ जना मात्र सक्रिय संक्रमित छन् ।