काठमाडौं । काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ । फाइनल खेल टियु क्रिकेट मैदानमा बिहान ८ः४५ बजे नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुँदैछ ।
फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले उपाधि आफूले नै जित्नेमा विश्वस्त देखिएका छन् ।
एपीएफको कप्तानी शरद भेषावकर र पुलिसको कप्तानी मन्जित श्रेष्ठले गरिरहेका छन् ।
पाँच टोली सहभागी रहेको प्रतियोगितामा शीर्ष दुईमा रहेर दुवै टोली फाइनलमा पुगेका हुन् । दुवै टोलीले ४ खेलमा ३ जितसहित फाइनलमा पुग्ने अवसर पाएका हुन् ।
रनरेटमा पुलिस अगाडि रहँदै शीर्ष स्थानमा रहेको थियो । समूह चरणमा भने एपीएफले पुलिसलाई हराएको थियो ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख रुपैयाँ पाउने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान २५–२५ हजार रुपैयाँ पाउने छन् ।