काठमाडौं । भारतले इङ्गल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । पुनेमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इङ्गल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो ।
भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इङ्गल्याण्डले ५० ओभरमा ९ विकेटको नोक्सानीमा ३२२ रन बनाउन सक्यो ।
इङ्गल्याण्डका साम करणले नटआउट रहँदै ९५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले ८३ बलको सामना गरेका थिए । डाविड मालनले ५० रन बनाएका थिए ।
अन्तिम समयसम्म रोमाञ्चक बनेको खेलमा शार्दुल ठाकुरले ४ विकेट लिए । भुवनेश्वर कुमारले ३ तथा टी नटराजनले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा अलआउट हुँदै ३२९ रन बनाएको थियो । ऋषव पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्डेयाले ६४ तथा रोहित शर्माले ३७ रन बनाए ।
इङ्गल्याण्डका मार्क उडले ३ तथा आदिल रशिदले २ विकेट लिए ।
खेल भारतले जिते पनि म्यान अफ द म्याच भने इङ्गल्याण्डमा करण भएका छन् । यो जितपछि भारतले तीन वटै सिरिज जित्न सफल भएको छ । यसअघि भारतले टेष्ट र टी–२० सिरिज पनि जितेको थियो ।