काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
एपीएफले दिएको १ सय ६ रनको अत्यन्तै झिनो विजयी लक्ष्य पुलिसले २४.१ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले ५९ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै अनिल साह र कुशल भुर्तेलले समान १५ रन बनाए । एपीएफका अविनास बोहरा र भुवन कार्कीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।
एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८–१८ रन बनाए । कप्तान शरद भेषावकरले रनको खाता नै खोल्न सकेनन् ।
एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४– ४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १÷१ विकेट लिए ।
गुल्सन प्लेयर अफ द फाइनल भएका छन् ।
उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाएको छ ।
पाँच टिमले सहभागीता जनाएको प्रतियोगितामा पुलिसका दिपेन्द्र सिंह ऐरी प्लेयर अफ द सिरिज बने ।
बाग्मतीका अलियो पौडेल बेष्ट बलर चुनिँदा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी बेष्ट ब्याट्सम्यान चुनिए ।