काठमाडौं । पाकिस्तानले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि शानदार जित निकालेको छ । घरेलु मैदानमा दक्षिण अफ्रिका निरीह देखिएको हो ।
सेन्चुरियनमा शुक्रबार भएको खेलमा पाकिस्तान ३ विकेटले विजयी हुन सफल भएको हो । २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेटको नोक्सानीमा पूरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले १०३ रन बनाए । १०४ बलमा कुनै छक्का प्रहार बिना उनले बनाएको शतक करियरको १३ औं एक दिवसीय शतक हो ।
इमाम उल हकले ७० रन बनाए । दक्षिण अफ्रिकाका एन्रिच नोर्टजेले ४ विकेट लिए । एडिले फेलुकवायोले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको नोक्सानीमा २७३ रन बनाएको थियो ।
रस्सी भान डेर डुसेनले १३४ बलमा नटआउट रहँदै १२३ रन बनाए । डेभिड मिल्लरले ५० रन जोडे । पाकिस्तानका सहिन शाह अफ्रिदी र हरिस राउफले २–२ विकेट लिए ।
जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल आइतबार जोहानेसबर्गमा हुनेछ ।