गागलफेदी यातायातमा मेगा बैङ्कको क्युआर भुक्तानी सुविधा
प्रकाशित २०७७ चैत १ आइतबार
213
Shares
काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुवाहक बसहरूमा क्युआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ।
मेगा बैङ्क र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्युआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो। कार्यक्रममा मेगा बैङ्कका प्रमुख सञ्चालन अधिकृत राजेश शर्माले मेगा बैङ्कले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
यसै गरी, मेगा बैङ्कका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्युआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए। यस्तै, गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसूदन केसी (खड्का)ले क्युआर कोड सुविधाको व्यवस्था गरेकोमा मेगा बैङ्कलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी व्यवस्थाको प्रयोगले यातायात सञ्चालक तथा यात्रुहरू दुबैलाई सहज हुने बताए।
कार्यक्रममा गागलफेदी यातायात प्रालिका सञ्चालकहरू बद्रीबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य सेयर धनीहरूको उपस्थिति थियो। गागलफेदी यातायातले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ।
नगदरहित भुक्तानी व्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैङ्कको नीति अनुरूप मेगा बैङ्कले देशभरका विभिन्न सेवामूलक क्षेत्रमा क्युआर कोड सुविधाबाट भुक्तानी गर्ने व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ।