काठमाडौं । काठमाडौं उपत्यकाको सवारी जामले मात्र वार्षिक एक खर्ब १६ अर्बको घाटा हुने एक अध्ययनले देखाएको छ । आर्थिक विषयमा अनुसन्धान गर्दै आएका अर्थशास्त्री शेरजंगबहादुर चन्दले सम्भवतः देशकै पहिलो पटक काठमाडौँ उपत्यकाभित्रको सवारी साधन जामले देशको अर्थशास्त्रलाई कस्तो असर पार्छ भन्ने विषयमा शोधपत्र सार्वजनिक गर्ने क्रममा उक्त घाटाबारे खुलेको हो ।
शोधपत्रमा चन्दले काठमाडौँ उपत्यकाभित्र मात्रै भइरहेको सवारी साधन जामले असर गर्ने अनुमानित देशको आर्थिक भार सम्बन्धि खोज गरेका छन् । शोधपत्रमा जाममा पर्ने मानिसहरुले उक्त समयमा गर्न सक्ने आर्थिक भारको गणना गरेका छन् । उनले गणितीय अर्थशास्त्रको कल्पना गरी गणितीय मूल्य भारको गणना गरेका छन् ।
शोधपत्रमा सवारी जाम अर्थशास्त्रको बिषय नभई उक्त जामले देशको अर्थतन्त्रलाई कति असर गर्छ भन्ने कुरामा जोड दिएका छन् । जामको कारण खोज्न शहरी विकाश अनुसन्धानकर्ता तथा पर्यावरण विद्हरुको जिम्मेवारी रहेको भनिएको छ ।
यद्यपि आवर्ती (रिकरिङ) र गैरआवर्ती (ननरिकरिङ) कार्यले जाम हुने गरेको भनी शोधपत्रमा उल्लेख गरिएको छ । आवर्ती समस्यामा सवारी साधनको अनुपातअनुसार सरकारी नीति नबनेको, अव्यवस्थित शहरी विकास योजना, काठमाडौँका लागि अनुपयुक्त सार्वजनिक सवारी साधनहरु, असक्षम ट्राफिक प्रणाली, व्यक्तिगत सवारी साधनको बढी प्रयोग, सरकारी परिवहन नीति आदि रहेका छन् ।
गैर आवर्ती समस्यामा दुर्घटना, जुलुस, धर्ना, मौसमको गडबडी, बाटो–खानेपानी–बिजुली जस्ता बनाउने कार्य, बिना सूचना बाटो बन्द गर्ने कार्य जस्ता समस्या रहेको लेखिएको छ । शोधपत्रमा एक वर्षमा काठमाडौँ उपत्यकाभित्र मात्रै भएको जामले देशलाई अनुमानित एक खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक घाटा भएको देखाएको छ ।
जसमा उपत्यकाभित्र सवारी जामको कारण आर्थिक व्यक्तिको समय ढिला भएको वार्षिक रकम ९ अर्ब १ करोडको हाराहारीमा रहेको देखाएको छ । यस्तै सवारी जामले गर्दा लाग्ने इन्धन खर्च सामान्य इन्धन खर्च भन्दा २ अर्ब ८२ करोड ७८ लाख बढी, सवारी साधन मूल्य ह्रासमा सामान्य मूल्य ह्रास भन्दा ४ प्रतिशतले बढी भएको अध्ययनले देखाएको छ ।
जसको आर्थिक भार ३३ अर्ब १८ करोड रहेको छ । यस्तै सामान्य भन्दा कार्बन उत्सर्जन २८ प्रतिशतले बढी रहेको जसको आर्थिक भार बार्षिक ७० अर्ब ५० करोड भन्दा बढी रहेको पाइएको छ ।
एक औसत मान्छे १७ दशमलब ५ मिनेट हिँड्ने, सार्वजनिक सवारी साधनलाई कुर्ने समय ७ दशमलब २५ मिनेट रहेको छ । यस्तै सार्वजनिक सवारी साधनमा ४९ दशमलब १७ मिनेट हिँड्ने गरेको, कार चलाउने औसत समय ३५ मिनेट छ भने मोटर साइकल चलाउने औसत समय ३० दशमलब १७ मिनेट रहेको छ ।
यस्तै स्वास्थ्य उपचारमा उपत्यकाबासी सामान्य भन्दा करीब ५ प्रतिशत बढी सवारी जामले बिरामी हुने गरेका जसको आर्थिक व्यय भार बार्षिक २ अर्ब रहेको सोधपत्र मा उल्लेख छ ।
यस्तै सरकारले ट्राफिक व्यवस्थापनमा गर्नुपर्ने भन्दा बढी खर्च गर्नु परेको बाध्यात्मक आर्थिक व्ययभार बार्षिक १ अर्ब ९० करोड जति रहेको पाइएको अध्ययनले देखाएको छ । यस्तै सडक, खानेपानी, बिजुली, ढल, मर्मत जस्तै विभिन्न मर्मतहरुमा लाग्ने रकम भन्दा ३ अर्ब ५९ करोड बढी रकम वार्षिक लाग्ने गरेको, साथै सवारी जामले दुर्घटना बढेको र उक्त बढेको दुर्घटना खर्च १ अर्ब २२ करोड हुने गरेको अध्ययनले देखाएको छ ।
देशको बजेट साढे १४ खर्ब रहेको जसमा पनि पूरै कार्यान्वयन नहुने अवस्थामा काठमाडौँ उपत्यका जामको अर्थशास्त्रले मात्रै देशको बजेटको ८ प्रतिशत जति ओगट्न सक्ने देखिएकोले काठमाडौँ मा हुने सवारी जामले देशलाई कति घातक छ भन्ने कुरा अध्ययनले देखएको छ ।
सवारी जामले २८ प्रतिशत बढी कार्बन उत्सर्जन गर्ने गरेको, ४ प्रतिशत बढी सवारी साधनको ह्रास कट्टी हुने गरेको, ५ प्रतिशत बढी बिरामी सवारी जामले हुने गरेको जसमा मानसिक रोग पनि देखा परेका जस्ता तथ्यांकको अध्ययन गरेको पाइएको छ ।
अध्ययनले अर्को खतरनाक तथ्यांक देखाएको छ जसमा एक औसत मान्छे १७ दशमलब ५ मिनेट हिँड्ने, सार्वजनिक सवारी साधनलाई कुर्ने समय ७ दशमलब २५ मिनेट रहेको छ । यस्तै सार्वजनिक सवारी साधनमा ४९ दशमलब १७ मिनेट हिँड्ने गरेको, कार चलाउने औसत समय ३५ मिनेट छ भने मोटर साइकल चलाउने औसत समय ३० दशमलब १७ मिनेट रहेको छ ।
साथै ३७ दशमलब १८ मिनेट समयमा ८ दशमलब ९४ किलोमिटर जाने गरेको देखाएको छ र अध्ययनले अर्को डरलाग्दो कुरा सार्वजनिक गरेको छ जसमा समयको गणना गर्दा हिँड्ने मान्छे औसत ७ मिनेट प्रतिघण्टा, मोटरसाइकल २१ मिनेट प्रतिघण्टा, कार २७ मिनेट प्रतिघण्टा, सार्वजनिक यातायात ३४ मिनेट प्रतिघण्टा ढिला हुने पाइएको छ ।
जुन वास्तममै आश्चर्यजनक रहेको छ । यस्तै सवारी जामले बढी इन्धन खर्च हुने अध्ययनले दुई पांग्रे २६ किलोमिटर प्रतिलिटर, चारपांग्रे कार जीप ८ किलोमिटर प्रतिलिटर चल्ने गरेको पाइएको छ ।
यस्तै सवारी जामले २८ प्रतिशत बढी कार्बन उत्सर्जन गर्ने गरेको, ४ प्रतिशत बढी सवारी साधनको ह्रास कट्टी हुने गरेको, ५ प्रतिशत बढी बिरामी सवारी जामले हुने गरेको जसमा मानसिक रोग पनि देखा परेका जस्ता तथ्यांकको अध्ययन गरेको पाइएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा ट्राफिक प्रवाह ब्यस्त समयमा १४ किलोमिटर प्रतिघण्टा, सामान्य समयमा ३२ किलोमिटर प्रतिघण्टा तथा रातिको समयमा ५५ किलोमिटर प्रतिघण्टा रहेको पाइएको छ ।
पोष्ट डक्टरेट गरिरहेका चन्दले यो शोधले सरकारलाई अब आउने विकास बजेटमा काठमाडौँको विकास परियोजना, योजना बनाउन मद्दत पुर्याउने, बाहिरी चक्रपथ निर्माणमा जोड, ट्राफिक व्यस्थापनको अवस्था, सवारी साधनसँगै सडकको अवस्था, सवारी साधन दर्ता नीति नियममा सहयोग हुने विश्वास लिएको बताएका छन् ।
उनले काठमाडौँ उपत्यका भरिका स्थानीय तहहरुलाई आफ्नो सवारी नीति, सडक नीति, जग्गा बेचबिखन नीति, पार्किंग व्यवस्थापन, सार्वजनिक साधन कस्तो चलाउने, ढल निर्माण, सवारी साधनको अनुपातअनुसार सरकारी नीति बनाउन, अव्यवस्थित सहरी विकास योजना हटाउन , काठमाडौँका लागि अनुपयुक्त सार्वजनिक सवारी साधनहरुको खोजी गर्न, असक्षम ट्राफिक प्रणालीलाइ सफल बनाउन, व्यक्तिगत सवारी साधनको कम प्रयोग गर्ने नीति बनाउन , सरकारी परिवहन नीति आदि बनाउन, दुर्घटना, जुलुश, धर्ना, मौसमको गडबडी, बाटो, खानेपानी, बिजुली जस्ता बनाउने कार्य, बिना सूचना बाटो बन्द गर्ने जस्ता कार्यमा सहयोग गर्ने कुरामा यस शोधपत्रले केही न केही राहत दिन सक्ने दाबी उनको छ ।