म्याग्दी। छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेनटिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्व तयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो ।
बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेनटिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेनटिनमा राख्ने निर्णय गरिएको जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलवार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वारेनटिनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
उनका अनुसार बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेनटिन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।
त्यसै गरी बेनी अस्पतालमा स्वास्थ्य जाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक सङ्घसंस्थाले अनिवार्य साबुन पानीले हात धुने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा भिडभाड हुने कार्यक्रमलाई समेत कडाइ गरिने भएको छ । काममा आउने मजदुरलाई कोरोना परीक्षण तथा क्वारेनटिनमा नराखी काममा खटाइएको अवस्थामा सम्बन्धित कम्पनी तथा व्यक्तिलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकमा सहभागी केही प्रतिनिधिले भने विदेशबाट आउनेलाई क्वारेनटिनमा राख्ने तर विभिन्न ठाउँमा मानिसको भिडभाड हुने मेला जात्रा र महोत्सव नियन्त्रणमा बेवास्ता गरिएको भन्दै निर्णयप्रति असहमति जनाएका छन् । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रह विपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको दबाब र प्रभावमा उनीहरू अनुकूलको निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
दरवाङमा चैत अन्तिम हप्तादेखि मालिका महोत्सव र बेनीमा नयाँ वर्षको अवसरमा लोक सांस्कृतिक उत्सवको आयोजना गरिएको छ । यसै गरी फागु पूर्णिमा पर्वको अवसरमा पनि गाउँ गाउँमा मेला आयोजना भएका छन् ।