खोकनामा विवाद नटुङ्गिँदा निजगढमा २२ किमीको काम अघि बढाउँदै सेना
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
463
Shares
काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको काठमाडौँ-तराई /मधेस द्रुतमार्ग (एक्सप्रेस वे) अन्तर्गत काठमाडौ तर्फको जिरो प्वाइन्ट खोकनामा जग्गा मुआब्जा विवाद नटुङ्गिँदा सेनाले निजगढ तर्फको कामलाई अघि बढाउने तयारी गरेको छ ।
सेनाले खोकना विवाद नटुंगिएपछी निजगढ तर्फको कामलाई दोस्रो चरणमा लैजाने तयारी गरेको हो । निजगढ अन्तर्गतको खण्डमा पर्ने जिरो प्वाइन्ट देखि २२ किलोमिटर दुरीसम्मको कामलाई तीन भागमा विभाजन गरेर दोस्रो चरणमा अघि बढाउने तयारी सेनाको छ। यसै गरी यो चरणमा यस सडक खण्डमा पर्ने तीनवटा सुरुङ मार्गको काम समेत सुरु हुने छ । हाल सुरुङ मार्गका लागि आवश्यक पर्ने पहिलो चरणको काम समेत सकिएको सेनाले जनाएको छ । सुरुङ खन्ने काम भने आगामी जेठबाट सुरु हुने छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन ७२ दशमलव ५ किलोमिटर कूल दूरी हुने द्रुत मार्ग काठमाडौं तराइ जोड्ने सबै भन्दा छोटो सडक आयोजना हो । यस आयोजनामा हाल सुरुङ खण्डमा पर्ने चट्टान तथा माटोको प्रकृति र भौगर्भिक बनोट परीक्षणको काम सकिएपछि सेनाले ठेक्का प्रक्रियामा आएका निर्माण कम्पनीहरूको बोलपत्र सम्बन्धी आवश्यक प्रक्रिया वैशाख भित्रै सम्पन्न गरेर जेठबाट निर्माण थाल्ने तयारी गरेको छ ।
नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अपरेशन प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले खोकनाको मुआब्जाका विषयमा छलफल अघि बढिरहेकाले निजगढ तर्फबाट 'कटिङ फिलिङ' सकिएको भागमा आगामी आर्थिक वर्षको सुरुवातसँगै दोस्रो चरणको काम सुरु गरिने बताए । यसै गरी सुरुङ तर्फ ठेक्का बन्दोबस्त सम्बन्धी सबै प्रक्रिया पुरा गरेर आगामी जेठ भित्रै सुरुङ निर्माणको काम थालिने उनले जानकारी दिए ।
‘सुरुङ खण्डमा पर्ने चट्टान तथा माटो परीक्षणको काम सकियो छ, अब निर्माण कम्पनीसँगका केही प्रक्रियागत काम सकाएर जेठ भित्रै सुरुङ निर्माणको काम अघि बढ्छ,’ आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख पहाडीले भने ।
नेपाली सेनाले सो सडक आयोजना अन्तर्गत हालसम्म भौतिक प्रगति करिब १२ प्रतिशत भएको बताएको छ भने तीन वटै सुरुङको काम सक्दा सो प्रगति उल्लेख्य रूपमा बढ्ने बताइन्छ । यस आयोजनामा सबै भन्दा जटिल काम सुरुङ निर्माणलाई नै मानिँदै आइएको छ ।
काठमाडौंबाट निजगढसम्म पर्ने द्रुत मार्ग आयोजनामा कूल तीन वटा सुरुङ मार्ग बन्ने छन् । जस अन्तर्गत महादेवटार (३ दशमलव ३५५ किमी), धेद्रे (१ दशमलव ६३ किमी) र लेनडाँडाँमा (१ दशमलव ४३ किमी) सुरुङ निर्माण गर्ने तयारी छ । यी तीन सुरुङको कूल दुरी ६ दशमलव ४१ किलोमिटर रहनेछ ।
हाल सुरुङ निर्माणका लागि पूर्व योग्यता मूल्याङ्कन गरी कम्पनी छनोट भएसँगै अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको प्रक्रिया अघि बढेकोले यस बीचमा कुनै व्यवधान नभए आगामी चार वर्ष भित्रमा सुरुङ निर्माणको काम सम्पन्न गर्न सकिने सेनाले जनाएको छ ।
सो द्रुतमार्ग निर्माणका लागि हालसम्म अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ । यो द्रुतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २१ वैशाख २०७४ मा सरकारले सेनालाई सो द्रुत मार्ग आयोजना निर्माणको जिम्मेवारी दिएको थियो ।
तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लामो समयसम्म उपलब्ध नहुनु र उपलब्ध भई सकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाइ र कोभिड १९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ ।
हालसम्म १६ अर्ब ६६ करोड कुल वित्तीय खर्च भएको सो आयोजनाको निर्माण कार्य विभिन्न कारणले ढिला भएको भन्दै सेनाले हाल भने कामले गति लिएको जनाएको छ । सेनाले डीपीआर प्राप्त गरेपछिको समयलाई पनि गणना गर्दै अगामी २०८१ मा कार्य सम्पन्न गर्ने उल्लेख गरेको हो ।