arrow

कोरोना भाइरसः दोस्रो लहरको जोखिमपछि मालिका महोत्सव स्थगित 

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
coronavirus-hamrakuras1.jpg

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा चैत २७ गतेदेखि आयोजना गरिएको प्रथम मालिका महोत्सव स्थगन भएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकाले नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव स्थगन गरिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घको मालिका बजार एकाइ समितिले जनाएको छ । 

एकाइ अध्यक्ष लेकबहादुर पुनले आयोजक समिति र सरोकारवालाको शनिबार दरवाङमा बसेको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि महोत्सव स्थगन गरिएको जानकारी दिए । 

चैत २७ देखि बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा भारतबाट काम गर्न आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीलाई गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लोपटक मालिका गाउँपालिकाकै एक शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

कोरोना जोखिम कम भएपछि महोत्सव गर्न नयाँ कार्यतालिकाको अर्को मिति तय गरिने अध्यक्ष पुनले बताए । पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गर्ने तय भएको थियो । 

महोत्सवमा पुरुष–महिला भलिबल, लोकदोहोरी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रदर्शनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारको गायन प्रस्तुति तय भएको थियो । 

दोस्रो लहरको कोरोनाको जोखिम बढेपछि गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले भीडभाडमा कडाइ गर्दै भारतबाट आउनेलाई १० दिन अनिवार्य एकान्तबास बस्नुपर्नेलगायतका निर्णय गरेको थियो । रासस



लोकप्रिय समाचार
नयाँ