काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले होलीमा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ९० स्थानमा चेक प्वाइन्ट राखेर चेक जाँच कडा बनाएको छ ।
होली मनाउने क्रममा ट्राफिक नियमलाई बेवास्ता गर्ने र त्यही कारण दुर्घटना बढ्ने विगतका अनुभवलाई हेर्दै ट्राफिक प्रहरी महाशाखाले नौ सय जनशक्ति परिचालन गर्दै उपत्यकाका तीनै जिल्लाको चेकजाँचलाई कडा बनाएको हो ।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका ७६ स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँच गरिएको जानकारी दिए ।
उपत्यकाका ७६ स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँच गरिरहेका छौं, चेक जाँचका क्रममा मापसे गरेको, विलबुक नभएको, क्षमता भन्दा बढी यात्रु चढेको, हेलमेट नलगाएको पाइए कारवाही हुन्छ ।’ महाशाखाका प्रमुख एसएसपी भट्टराईले हाम्राकुरासँग भने ।
महाशाखाले दिउसो १ बजेसम्म २२ वटा मोटरसाइकल चालकलाई मापसे गरेको पाइएपछि रोकेको छ । यस्तै ४ सय २१ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको छ भने चार पांग्रे १७ वटा सवारी साधन होल्ड गरिएको छ ।
यस्तै सामान्य गल्ती गरिएको पाइएपछि ६ सय ८३ सवारी साधनलाई सम्झाइ बुझाइ छाडिएको महाशाखाको ट्राफिक कन्ट्रोलले जनाएको छ । विहान ७ बजेबाट सुरु चेकजाँचयता ८ वटा सामान्य दुर्घटना भएको महाशाखाले बताएको छ ।
चेक प्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि गर्ने, मोटरसाइकलमा तीनजना बस्ने तथा होहल्ला गरेर सवारी चलाएमासमेत सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याएको छन् ।
महानगरीय प्रहरी कार्यालय रानी पोखरीलेसमेत जबर्जस्ती रंग दल्ने र लोला फाल्नेलाई पक्राउ गर्न आफ्ना मातहतका निकायहरुलाई निर्देशन गरेको छ । यसैगरी स्थानीय प्रशासनलेसमेत सार्वजनिक रुपमा होली कार्यक्रम वा कन्सर्ट आयोजना गरेको पाइए पक्राउ गर्न निर्देशन गरेको छ ।
यस्ता कार्यक्रम आयोजना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने छ । हाल गृह मन्त्रलायले कोरोना संक्रमणलाई लक्षित गर्दै सामूहिक रुपमा होली खेल्न रोक लगाएको छ ।