नेपालगञ्ज । नेपालगञ्ज नाकामा तेस्रो व्यक्तिमा कोरोना देखिएको छ ।भारतको मुम्बईबाट आएका दैलेखका ३४ बर्षीय पुरुषमा कोरोना देखिएको हो । नेपाल भारत सीमास्थित जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परिक्षण गर्दा उनमा मंगलबार दिउँसो कोरोना देखिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।
यसअघि रोल्पा र बर्दियाका दुई जना पुरुषलाई पनि कोरोना देखिएको थियो । नेपालगञ्ज नाकाबाट मंगलबार ९० जना पुरुष, ३१ जना महिला र ९ जना बालबालिका गरी जम्मा १ सय ३० जना नेपाल प्रवेश गरेकोमा ७ जना शंकास्पदको एन्टिजेन परिक्षण गरिएको वलीले जानकारी दिए।
भारतमा दोस्रो लहरको कोरोना तीब्र गतिमा फैलिएपछि कामको सिलसिलामा भारत पुगेका नेपालीहरु दिनहुँ सयौंको संख्यामा नेपाल फर्किरहेका छन् । भारतबाट आउनेहरुलाई नेपालगञ्ज नाकामा जाँच गरेर मात्र भित्र्याउने गरिएको छ ।