काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो । सूचना जारी गर्दै मन्त्रालयले जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको भन्दै कारबाही गर्ने समेत जनाएको छ ।
उसले बेलायत भेरियन्टको संख्या बढ्दो रहेको समेत जनाएको छ । मास्क प्रयोग नगर्नेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले आग्रहसमेत गरेको छ ।
त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सय भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताएका छन् ।
मन्त्रालयले शैक्षिक संस्थाहरुमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोरोनाको महामारी दिनानुदिन बढ्दै जाँदा नेपालमा पनि दोस्रो लहर आएको आशंका गरिएको छ । बुधबार मात्रै ३३९ जनामा कोरोना देखिएको छ ।
जसमा पीसीआरबाट २९८ र एन्टिजेनबाट ४१ जना थपिएका हुन् ।