काठमाडौं । काठमाडौं उपत्यका एक सातादेखि विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । गत सोमबारदेखि आइतबारसम्म लगातार काठमाडौं शीर्ष स्थानमा छ ।
आइतबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८८ रहेको छ । यसअघि सोमबार बिहान ९ बजे सबैभन्दा बढी ३३१ एक्यूआई रहेको थियो ।
मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ।
पश्चिमी वायुको न्यून चापीय असर बढी भएकाले पनि प्रदूषणका लागि थप मद्धत पुगेको हो । तर मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
अब विस्तारै मौसममा सुधार हुने अपेक्षा गरिएको छ । देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
देशका पहाडी भूभागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन–चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गत साउन महिनादेखि राम्रोसँग वर्षा नभएकाले पनि मौसम खुल्न सकेको छैन । फेरि डढेलोले थप चिन्तित पारेको छ ।
गत हप्ताकोआइतबार मात्रै नेपालमा ७ सय १८ वटा जंगलमा डढेलो लागेको थियो। उक्त डढेलो निभाउन केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै पहल गरेन । हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन् ।
काठमाडौंमामात्र नभएर मुलुकका अन्य शहरहरुमा पनि प्रदूषणको पारो अन्त्यन्त बढेको छ ।
तीन चार दिनका लागि काठमाडौँ उपत्यकाको वायु प्रदूषण स्थिर रहने बताइएको भए पनि अहिलेसम्म खुल्न सकेको छैन । क्रम भने जारी रहेको देखिन्छ ।
पानीसँगै उपत्यकामा वेगको हावा नचलेसम्म प्रदूषण घट्ने सम्भावना नरहेको मौसमहरु बताउँछन् ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले वायु प्रदूषण न्यूनीकरण गर्न सकिने विषयमा छलफल भइरहेको बताए । ‘गत हप्ताको तुलनामा पानी परेपछि प्रदूषण कम भएको छ तर, फेरि बढ्दै गयो भने सरकारले त्यही अनुसार निर्णय गर्नेछ,’ उनले भने ।
उपत्यकामा अचानक बढेको र बढेकै अवस्थामा रहेको प्रदूषण न्यूनीकरणका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लगाउने, औद्योगिक क्षेत्र बन्द गर्न लगायतका उपाय किन अपनाइएन भन्ने प्रश्नमा यस्ता निर्णय सहजै गर्न सक्ने अवस्था नरहेको प्रवक्ता जोशीले बताए ।
‘उपत्यकाका औद्योगिक क्षेत्रहरु बन्द गरेर फेरि सञ्चालन गर्दा ठुलो घाटा हुन्छ, यातायात पनि बन्द गर्न सकिने अवस्था रहन्न, कयौं मानिसहरुको अत्यावश्यक काम हुन्छन्, अफिसहरु ठप्प रहन्छन्,’ उनले भने ।
वायु प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, यातायात व्यवस्था विभागलगायत स्थानीय सरकारहरूलाई समेत विभिन्न किसिमका जिम्मेवारी बाँडिएको प्रवक्ता जोशीको भनाइ छ ।
त्यसै अनुसार वायु प्रदूषण नियन्त्रणका लागि गाडीमा युरो ४ को मापदण्ड लागु गर्ने, विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने, ट्राफिक व्यवस्थापन, पुराना गाडी विस्थापन, निर्माण क्षेत्रमा कडाइ, इँटा उद्योग सार्ने लगायतका कामहरु भइरहेको उनको भनाइ छ ।
वायु प्रदूषण नियन्त्रणका लागि अनावश्यक आगो बाल्न नदिने, एवं धुँवा उत्पादन गर्ने किसिमका फोहर जथाभावी फाल्न नदिने किसिमका उपायहरु अपनाइएको काठमडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण मापन गर्दै आएको विगत ४ वर्षयता पहिलो पटक अत्यधिक प्रदूषण भएको प्रवक्ता जोशीको भनाइ छ ।
डढेलो र पानी नपरेका कारण यस पटक अत्यधिक वायु प्रदूषण भएको नत्र विगतमा झैं वायु प्रदूषण स्थिर रहेको र खासै नबढेको उनको भनाइ छ ।
देशभरै र खास गरी काठमडौं उपत्यकाको वायु प्रदूषण पछिल्लो समय अत्यधिक हानिकारक अवस्थामा छ । यस्तोमा हरेक नागरिकले सतर्कता अपनाउनु पर्ने विज्ञहरुको भनाइ छ ।
अत्यधिक वायु प्रदूषण भएका कारण यसले श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्या निम्त्याउने वातावरणीय स्वास्थ्यविद् एवं नेपाल खुला विश्वविद्यालयका सहायक प्राध्यापक डा। यादवराज जोशीले बताएका छन् ।
यस्तो अवस्थामा अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन र निस्कनै परे मास्क र अन्य सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
सरकारको खेलबाड
सरकारले भने यतिबेला खेलबाड गरिरहेको छ । डढेलो लागेर प्रदूषण बढ्दा चार दिन सबै शैक्षिक संस्थाहरु बन्द गराएको सरकारले अहिले लगातार एक हप्ता विश्वकै सबैभन्दा प्रदूषित शहरमा गनिँदा र देशभर प्रदूषण बढ्दा वास्ता गरेको छैन ।
सरकारले नियुक्त गरेका योजनाकारहरुले सरकारलाई कुनै सुझाव दिएका छैनन् । सरकारले वैकल्पिक उपाय अवलम्बन गर्न सकेको छैन ।
बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाको स्वास्थ्यमाथि खेलबाड भएको छ । कोरोना भाइरसको महामारी बढिरहेका बेलामा त्यतासमेत गम्भीर चासो राख्न नसकेको सरकारले अहिलेको प्रदूषणमा पनि वास्ता गरेको छैन ।
जनस्वास्थ्य विज्ञहरुको सुझाव
काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कन परे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे। उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन्। नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ।
उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए। उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे।
बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ। वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे।
गर्मी बढेसँगै डढेलोका कारण सोमबार बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ। यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो ।
प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।