काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएर विद्यार्थीहरूसमेत संक्रमित हुन थालेपछि सरकारले देशका मुख्य शहरहरुमा कक्षा १ देखि सम्म ५ सम्म विद्यालय बन्द गर्ने तयारी गरेको छ । सरकारले विद्यालय सञ्चालकसहित अभिभावक र आवश्यक पक्षसँगको पटक पटकको छलफल र संवादपछि देशका मुख्य शहरहरुमा १ देखि ५ कक्षासम्मका विद्यालय बन्द गर्ने तयारी गरेको हो ।
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जीवन र स्वास्थ्य भन्दा ठुलो विषय अरू नभएकाले सरकारले देशका मुख्य शहरमा सञ्चालित कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द गर्ने योजना बनाएको र छिटै निर्णय लिइने जानकारी दिए । अहिले सो विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदै छ ।
‘स्कुलका विद्यार्थी नै संक्रमणको जोखिममा पर्नु भनेको सामान्य विषय होइन, अझै कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको अवस्था उमेर अनुसार पनि जटिल हुन सक्छ, यस कारण अब छिटै १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरूलाई अनलाइन कक्षामा सहभागी गराउने गरी निर्णय हुन्छ, यो निर्णयमा ढिलाइ हुँदैन,’ शिक्षामन्त्री श्रेष्ठले हाम्रा कुरासँग भने ।
उनका अनुसार काठमाडौँ उपत्यका, पोखरा, चितवन, हेटौँडा, वीरगन्ज, विराटनगर, धरान, जनकपुर, बुटवल, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज लगायतका स्थानमा कक्षा १ देखि ५ सम्मका विद्यालय तीन साता बन्द गर्ने योजना सरकारले बनाएको हो ।
यसै गरी कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूका लागि स्वास्थ्य प्रोटोकलमा कडाइ गर्ने गरी कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ । सरकारले यसबिचमा विद्यालय सञ्चालकहरूसँग संक्रमणको जोखिमका विषयमा छलफल गरेको थियो । सो क्रममा विद्यालय बन्द गर्न नहुनेतर्फ विद्यालय सञ्चालकहरूले अडान लिएका थिए । तर सरकारले संक्रमणको गति बढ्दै जाँदा बालबालिकामा त्यसको असर नियन्त्रणमा राख्न गाह्रो हुन निष्कर्षसहित विद्यालयलाई वैकल्पिक विधिबाट सञ्चालन गर्ने उपाय निकालेको हो ।
स्कुल सञ्चालकहरूले भने विद्यार्थीहरूको रोल नम्बर अनुसार जोड विजोड गरेर कक्षा सञ्चालन गर्न सकिने, स्वास्थ्य प्रोटोकलमा कडाइ गर्ने लगायतको प्रस्ताव सरकार समक्ष राख्दै आएका थिए । उनीहरूको प्रस्ताव सरकारले सम्बोधन गर्न सकिने अवस्था नरहेको भन्दै कम उमेरका विद्यार्थीलाई स्कुल पठाउने अवस्था नहुने जवाफ दिएको हो ।