काठमाडौँ । फोर्ब्सले 'एसिया टप ३०' को सूचिमा नेपालका प्रकाश कोइरालालाई सूचीकृत गरेको छ । कम आय भएका कमजोर समुदायलाई आधारभूत व्यक्तिगत वित्तीय शिक्षा दिनका लागि गरेको कामको मूल्याङ्कन गर्दै फोर्ब्सले कोइरालालाई 'एसिया टप ३०' मा सूचीकृत गरेको हो ।
कोइरालाले सन् २०१७ मा फिन लिट नेपालको स्थापना गरेका थिए । नेपाल जस्तो गरिब मुलुकमा झण्डै २० प्रतिशतभन्दा बढी मानिस निम्न आय भएका छन् । यस्ता मानिसहरूलाई वित्तीय शिक्षा दिएर गरिबी निवारणका लागि महत्त्वपूर्ण योगदान दिने फिन लिट नेपालको उद्देश्य हो ।
विश्वकै मुख्यमध्येको एक अमेरिकी म्यागेजिन फोर्ब्सले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको '३० अन्डर ३० एसिया'को सूचिमा फिन लिट संस्थापक प्रकाश कोइराला परेका हुन् । खास गरी उद्यम क्षेत्रबाट समुदाय र विश्वकै लागि योगदान दिइरहेका हरुलाई फोर्ब्सले यो सूचिमा समेट्ने गरेको छ ।
फिन लिटले सरकार, विभिन्न कम्पनी र समूहहरूसँग काम गरेर देशको वित्तीय प्रणालीमा वित्तीय साक्षरता र समावेशीकरणको लागि कार्यक्रम र नीति विकास गर्ने काम गर्छ ।
सन् २००९ देखि नै वित्तीय क्षेत्रमा काम गर्दै आएका कोइरालाले विभिन्न पुरस्कारहरु समेत पाएका छन् । यसबाहेक उनले सन् २०१७ मा हार्वर्ड क्यानेडी स्कुलबाट फेलोशिप सहित छात्रवृत्ति समेत पाएका थिए ।