काठमाडौं । भारतमा कोभिड–१९ संक्रमण बढ्दै गएकाले आपूर्ति प्रभावित हुनसक्ने भन्दै नेपाल एलपी ग्यास उद्योग संघले बिक्रेता र उपभोक्ताहरूलाई खाना पकाउने सिलिण्डर ग्यास भरेर राख्न आग्रह गरेको छ ।
संघले शुक्रवार सूचना जारी गर्दै खाली सिलिन्डर भरेर राख्न आग्रह गरेको हो । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर यस्तो सूचना जारी गरिएको संघले जनाएको छ ।
गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो ।
एलपी ग्यास उद्योग संघले विगतका अनुभवमा घरमा भएका सिलिण्डर पनि अभाव हुने हल्लाले एकैपटक निकाल्ने उपभोक्ताको मनोभावनाका कारण आपूर्ति असहज हुने र अत्यावश्यक हुनेले समेत समयमा नपाउने अवस्था सिर्जना भएको परिप्रेक्ष्यमा आफूसँग भएका खाली सिलिण्डर भरेर भण्डारण गर्न उपभोक्ता र बिक्रेतालाई आग्रह गरेको छ ।
यता, नेपाल आयल निगमले बुधबार एलपी ग्यास उद्योग संघलाई पत्राचार गरी भारतमा स्थिति जटिल बन्दै गएको सन्दर्भमा आपूर्ति प्रभावित हुन नदिन भण्डारण बढाउन आग्रह गरेको छ ।