काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक दैनिक बढेर रेकर्ड बनिरहेको छ । शनिबार अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका छन् । शनिबार ३ लाख ४८ हजार ९७९ संक्रमित थपिएका छन् । यो संख्या कुनै पनि देशको एकै दिनको सबैभन्दा बढी हो ।
त्यस्तै २ हजार ७६१ जनाको ज्यान गएको छ । यो एकैदिन थपिएको भारतको सबैभन्दा बढी हो । यसअघि शुक्रबार ३ लाख ४५ हजार भन्दा बढी संक्रमित थपिए । त्यसैगरी २ हजार ६२० जनाको ज्यान गयो । बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका थिए । बिहीबार २ हजार २५६ जनाको ज्यान गयो ।
बुधबार भारतमा ३ लाख १५ हजार ८०२ जना संक्रमित थपिएका थिए । त्यसैगरी बुधबार २ हजार १०२ जनाको ज्यान गएको थियो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर २६ लाख ७४ हजार २८७ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।
मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । शनिबार २ हजार ७६१ जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउने १ लाख ९२ हजार ३१० पुगेको छ ।
शनिबार २ लाख १५ हजार ८०३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । तर यीमध्ये पनि कतिपयलाई पुनः कोरोना भएर ज्यानैसमेत गएको छ ।
राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शनिबार ६७ हजार १६० जना संक्रमित थपिएका छन् । हाल महाराष्ट्रमा मात्रै ६ लाख ९४ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार ६७६ जनाको ज्यान गएको छ । अहिलेसम्म ६३ हजार ९२८ जनाको ज्यान गइसकेको छ ।
राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ९३ हजार ८० पुगेका छन् । शनिबार २४ हजार १०३ संक्रमित थपिए । दिल्लीमा शनिबार ३५७ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १३ हजार ८९३ पुगेका छन् ।
उत्तर प्रदेशमा २ लाख ८८ हजार १४४ जना सक्रिय संक्रमित छन् । शनिबार ३७ हजार ९४४ संक्रमित थपिए । त्यस्तै मृतक २२२ थपिए ।
नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ८१ हजार ९६० जना पुगेका छन् । शनिबार १२ हजार ३५९ संक्रमित थपिए । शनिबार ७७ जनाको ज्यान गएको छ ।
संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ ।
अक्सिजन लुकाउनेलाई फाँसी दिन भारतीय अदालतले निर्देशन दिइसकेको छ ।
भारतमा अहिलेसम्म १३ करोड ८३ लाख ७९ हजार ८३२ जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।