काठमाडौं । भारतबाट फर्किएकाहरूमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि भारतसँग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा नाका बन्द गर्नु पर्ने अवस्था आएको बताएका छन् ।
कामका लागि भारत गएकाहरू खेतीपातीको सिजन सुरु भएपछि घर फर्कने क्रम एकातिर बढेको छ भने अर्कोतर्फ भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च हुँदै गएपछिसमेत नेपालीहरू स्वदेश फिर्ता हुने क्रम बढ्दो छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोनाको बढ्दो गतिका कारण कैलालीको अवस्था भयावह हुँदै गइरहेको बताए ।
उनले ३ चैत यता भारतका विभिन्न स्थानबाट आएका १४ हजार व्यक्तिमा कोरोना परीक्षण गरिएकोमा १२ सय जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यसमध्ये दुई जनाको निधन भएको उनले जानकारी दिएका छन् ।
‘भारतबाट आएकाहरू सबैलाई परीक्षण गर्न सकिएको छैन, लक्षण देखिएकाहरूलाई परीक्षण गरिएको छ, परीक्षण गर्दा धेरैमा सङ्क्रमण देखिएको छ, अब नाका बन्द गर्नु पर्ने अवस्था आइसक्यो, नाका बन्द गर्नु पर्छ, लकडाउन गर्नु पर्छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले हाम्राकुरासँग भने ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार भारतको पन्जाब, महाराष्ट्रबाट आउनेहरू धेरैको परीक्षण गरिएको छ । परीक्षण गरिएकामा सङ्क्रमण पुष्टि भए आइसोलेसनमा राखिएको छ भने सङ्क्रमण नदेखिएकाहरूलाई स्थानीय तहसँगको समन्वयमा उनीहरूको स्थानीय ठेगानमामा पठाइने गरिएको छ । यसरी पठाउनेलाई अनिवार्य क्वारेनटाइनमा राख्न स्थानीयतहहरूलाई भनिएको छ ।
कैलाली जिल्लामा भारततर्फ जोडिएका मुख्य ठुला नाका नभएपछि कञ्चनपुरका गौरिफन्टा, त्रीनगर नाका हुँदै आउनेहरू कैलाली हुँदै प्रवेश गर्ने गरेका छन् । ती नाकाहरूबाट सुदूरपश्चिम प्रदेशका नौ जिल्ला तथा कर्णाली प्रदेशका अधिकांश जिल्लाका व्यक्तिहरू आवतजावत गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका हुन् ।
वीरगन्जमा पनि त्रास
पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेका अनुसार पर्सामा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघिसकेको छ । पर्साको वीरगन्जसँग जोडिएको भारतीय सीमा रक्सौल हुँदै आउनेहरूमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । तर यो नाकाबाट आएकाहरूको पनि आउने जति सबैको परीक्षण गर्न सकिएको छैन ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले भारतबाट आउनेहरूका लागि हेल्थ डेस्क राखेर परीक्षण गर्ने गरिएको र सङ्क्रमण पुष्टि भए आइसोलेसन राख्ने नेगेटिभ आए क्वारेनटाइन अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार सीमा नाका हुँदै आउनेहरूको कडाइका साथ अभिलेख भने राख्ने गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले पछिल्ला दुई साता यता भारतबाट १० हजार व्यक्ति भित्रिएकोमा ८ सयको मात्रै परीक्षण गर्न सकिएको जानकारी दिए । त्यसमध्ये २० जनामा कोरोना पोजेटिभ आएको उनले भनेका हुन् ।
सिराहामा स्थानीयकै आवतजावत बढी
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंणेलका अनुसार भारतबाट आउने भन्दा पनि स्थानीयहरूको नाता सम्बन्धका कारण हुने आवतजावत बढी छ । यसरी दैनिक एक हजार व्यक्तिको आवतजावत हुँदै आइरहेको छ ।
सिराहामा भारतबाट आउनेहरू माधर नाका हुँदै आउने गरेका छन् । यस्तै जिल्लाभर एक जना सिराहा अस्पताल र अन्य होम आइसोलेसन गरी आठ जना आइसोलेसनमा छन् ।
प्रमुख जिल्ला अधिकारी कणेलले सिराहामा स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका नेताहरूले नै हाटबजार चलाउने, कुस्ती प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न किसिमका मेला आयोजना गर्ने गरेका कारण व्यवहारमा परिवर्तन ल्याउन नै समस्या भएको बताउँछन् ।
‘नाकामा कडाइ गरेका छौं, अझै कडाइ गर्नु पर्ने आवश्यकता छ, स्थानीयको आवतजावतलाई रोक्न समस्या भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी कणेलले भने ।
यसैगरी मोरङमा समेत सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय बढी पुगेको छ । यस्तै ३१ जना आइसोलेसनमा छन् । दोस्रो लहर सुरु भएपछि मोरङमा चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।
उनका अनुसार मोरङमा भा।रतबाट आउनेहरूको सङ्ख्या कम छ तर घरायसी समान किन्न पारीतर्फ जाने र आउने स्थानीयहरूको आवतजावत भने बाक्लो छ ।