काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक दैनिक बढेर रेकर्ड बनिरहेको छ । आइतबार अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका छन् । आइतबार ३ लाख ५४ हजार ५३३ जना संक्रमित थपिएका छन् । यो कुनै पनि देशको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
शनिबार ३ लाख ४८ हजार ९७९ संक्रमित थपिएका थिए । त्यस्तै २ हजार ८०६ जनाको ज्यान गएको छ । यो भारतको सबैभन्दा धेरैे हो । शनिबार २ हजार ७६१ जनाको ज्यान गएको थियो । यो एकैदिन थपिएको भारतको सबैभन्दा बढी हो । यसअघि शुक्रबार ३ लाख ४५ हजार भन्दा बढी संक्रमित थपिए । त्यसैगरी २ हजार ६२० जनाको ज्यान गयो । बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका थिए । बिहीबार २ हजार २५६ जनाको ज्यान गयो । बुधबार भारतमा ३ लाख १५ हजार ८०२ जना संक्रमित थपिएका थिए । त्यसैगरी बुधबार २ हजार १०२ जनाको ज्यान गएको थियो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर २८ लाख ७ हजार ३३३ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।
मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ ।
आइतबार २ लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । तर यीमध्ये पनि कतिपयलाई पुनः कोरोना भएर ज्यानैसमेत गएको छ ।
राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार ६६ हजार १९१ जना संक्रमित थपिएका छन् । हाल महाराष्ट्रमा मात्रै ६ लाख ९८ हजार ३५४ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार ८३२ जनाको ज्यान गएको छ । अहिलेसम्म ६४ हजार ७६० जनाको ज्यान गइसकेको छ ।
राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ९४ हजार ५९२ पुगेका छन् । आइतबार २२ हजार ९३३ संक्रमित थपिए । दिल्लीमा आइतबार ३५० जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १४ हजार २४८ पुगेका छन् ।
उत्तर प्रदेशमा २ लाख ९७ हजार ६१६ जना सक्रिय संक्रमित छन् । आइतबार ३५ हजार ३११ संक्रमित थपिए । त्यस्तै मृतक २०६ थपिए ।
नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ८७ हजार १५४ जना पुगेका छन् । आइतबार १२ हजार ७९५ संक्रमित थपिए । आइतबार ६८ जनाको ज्यान गएको छ ।
संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ ।
अक्सिजन लुकाउनेलाई फाँसी दिन भारतीय अदालतले निर्देशन दिइसकेको छ ।
भारतमा अहिलेसम्म १४ करोड ९ लाख १६ हजार ४१७ जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।