काठमाडौँ । सरकारले पहाडमा दुई सय र शहरी क्षेत्रमा पाँच सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लाहरूमा मङ्गलवारबाट निषेधाज्ञा लगाउने तयारी गरेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार गरेको सिफारिसलाई सोमवार बस्ने मन्त्रीपरिषद् बैठकले अनुमोदन गर्ने र केही क्षेत्रमा सोमवार तथा केहीमा मङ्गलवारबाटै निषेधाज्ञा लगाउने तयारी भएको हो ।
मन्त्री मणि थापाले आइतबार सीसीएमसीले गरेको सिफारिसलाई सोमवार (सोमबार) बस्ने मन्त्रीपरिषद् बैठकले अनुमोदन गर्ने जानकारी दिए । उनले सीसीएमसीले जिल्लास्थित कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई निषेधाज्ञाको अधिकार दिन सिफारिस गरेकाले त्यसलाई मन्त्रीपरिषद् बैठकले अनुमोदन गर्ने र केही क्षेत्रमा जोखिम हेरेर सोमवारैबाट र केहीमा अवस्था हेरेर निषेधाज्ञा लगाइने जानकारी दिएका हुन् ।
‘सीसीएमसीले जिल्लास्थित कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई निषेधाज्ञाको अधिकार दिन सिफारिस गरेको छ, त्यसलाई मन्त्रीपरिषद् बैठकले अनुमोदन गर्छ, केही क्षेत्रमा जोखिम इलाका हेरेर सोमवारबाटै त केहीमा जोखिमको अवस्था हेरेर निषेधाज्ञा लगाउने तयारी छ, ।’ मन्त्री थापाले हाम्रा कुरासँग भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बाँके जिल्लामा सोमवार मध्यरातबाट नै निषेधाज्ञा लगाइँदै छ । यस्तै बर्दियामा पनि सोमवारै रातीबाट निषेधाज्ञा सुरु हुँदै छ ।
यसै गरी सुर्खेतमा मङ्गलवारबाट निषेधाज्ञा सुरु हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मङ्गलवार अथवा बुधवारबाट निषेधाज्ञा लगाइने जानकारी दिए । उनले निषेधाज्ञाको निर्णय भने सोमवारै हुने जानकारी दिएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले निषेधाज्ञाबारे छलफल जारी रहेको तर अहिले नै निर्णय नभइसकेको जानकारी दिए ।
सीसीएमसीले आइतबार बसेको बैठकबाट पहाडी जिल्लामा दुई सय तथा शहरी क्षेत्रमा पाँच सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको थियो । सो बैठकले चालु अवस्थामा रहेका तथा सुरु हुने क्रममा रहेका सबै परीक्षा स्थगित गर्न पनि मन्त्रीपरिषद्मा सिफारिस गरेको छ ।
यसै गरी भारतीय सीमा नाका हुँदै आउने नेपाली बाहेकका नागरिकलाई प्रवेशमा रोक लगाउन पनि सीसीएमसीको सिफारिसमा भनिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।