arrow

काठमाडौँ उपत्यकामा निषेधाज्ञा : के बन्द, के खुला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
lockdown-ktm.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा १६ वैशाख बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।  काठमाडौँ उपत्यका अन्तर्गतका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको संयुक्त बैठकले १६ वैशाख बिहान ५ बजेबाट २२ वैशाख राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।  तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैठकको निर्णयपछि सोमबार साँझ नै निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका छन् ।  यो अवधिमा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

जारी आदेश अनुसार निषेधाज्ञाको अवधिमा काठमाडौँ उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न रोक लगाइएको छ । यो अवधिमा काठमाडौँ जिल्लाभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर अत्यावश्यक सेवा दिन सवारी साधनहरू भने चल्न पाउने छन् । एम्बुलेन्सले बिरामी तथा बढीमा दुई जना कुरुवा बोक्न पाउने छ । स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

त्यस्तै खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेनटिन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।यसै गरी खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म खुल्ने छन् ।

यसै गरी सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था र अरू अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अरू अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयले जारी गरेका परिचयपत्रका आधारमा आवतजावत गर्न सक्नेछन् ।

विवाह व्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ । सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिएर सवारी साधन चलाउन पाइने छ ।  विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाइने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने छ । यसै गरी अस्पताल आउने जाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनु पर्ने अवस्थामा सवारी साधन प्रयोग गर्नु परेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनु पर्ने छ ।



लोकप्रिय समाचार
नयाँ