काठमाडौं । बढदो क्रममा रहेको कोरोना संक्रमणका कारण १६ बैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएपछि काठमाडौं छाडेर गाउँ फर्कनेको भीड सुरु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार निषेधाज्ञा घोषणा भएको दिन सोमबार मात्रै ५० हजार व्यक्तिले काठमाडौं छाडेका छन् ।
महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण अधिकारीले सोमबार मात्रै ५० हजार व्यक्तिले काठमाडौं छाडेको जानकारी दिएका हुन् । आज यो संख्या बढ्नसक्ने उनले बताए ।
काठमाडौंका नयाँ बसपार्क, पुरानो बसपार्कसहित काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, कोटेश्वर, जडीबुटी, वालाजु लगायतका क्षेत्रमा यात्रुहरुको भीड बढेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घर फर्कन चाहनेहरुका लागि समय उपलब्ध गराउँदै १६ बैशाखबाट निषेधाज्ञा लगाइने निणर्य भएको सोमबार बताएका थिए । प्रसासनको निषेधाज्ञाको निणर्यको आदेशसँगै घर फर्कने यात्रुहरुको मुख्य नाका तथा बसपार्कहरुमा भीड बढेको हो ।
सोमबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निणर्य गरेको थियो । सो समयमा सार्वजनिक तथा नीजी सवारी साधन बन्द हुने आदेशमा उल्लेख छ ।