निषेधाज्ञा प्रभावकारी नभए कोरोना फेरि फैलिन्छ – डा. शेरबहादुर पुन
‘निषेधाज्ञाको लक्ष्य भाइरसको चेन ब्रेक गर्ने हो, खुकुलो भयो भने चेन ब्रेक हुँदैन, सानो समूदायबाट फेरि बढिहाल्छ’
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
185
Shares
काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको महामारी फैलाउनुमा सरकार र जनता दुवै दोषी भएको बताएका छन् । उनले दुवै पक्षबाट कोरोनाको महामारीलाई बेवास्ता गरिँदा अहिलेको स्थिति आएको बताए ।
उनले भने, ‘दोषी सरकार र जनता दुवै हुन् । राजनीतिक नाराहरु निरन्तर चलिरहेकै थिए । राजनीतिक भेलामा जाँदा चिटिक्क मास्क लगाएर जाने तर फर्किदा मास्क कहाँ गयो थाहा नै नहुने ।’
डा. पुनले भोज भतेर पनि बढी नै भएको भन्दै सचेत नभएरै अहिलेको अवस्था आएको नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा भने, ‘मेरो सम्पर्कमा भएकाहरु बिहेमा गएकाहरु फर्किदा सबै संक्रमित भएका परिवार पनि देखेको छु । सबैको दोष हो ।’
उनले विगत र अहिलेको तुलना गर्दै भने, ‘छोटो समयमा धेरै अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था रह्यो । कोरोना हटिसकेको थिएन । सामान्य अवस्थामा पनि सय डेढ सयको संख्यामा संक्रमितहरु देखिन्थे । तर उहाँहरु कहाँबाट संक्रमित हुनुभयो त भनी सोच्थेँ । आखिर उहाँहरु पनि समूदायबाटै आउनु भएको त हो । जमघट, भेला हुने गर्दाको नतिजा भोग्नुपर्ला भन्ने सोचेको थिएँ । त्यही भयो अहिले ।’
डा केसीले निषेधाज्ञाको पूर्ण पालना हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘निषेधाज्ञाको मुख्य लक्ष्य भाइरसको चेन ब्रेक गर्ने हो । यदि केही गरी खुकुलो भयो भने त्यो चेन ब्रेक हुँदैन । सानो समूदायबाट फेरि बढिहाल्छ । निषेधाज्ञा प्रभावकारी नभए फेरि फैलिन सक्छ । नदोहोरियोस् भन्नका लागि दुवै पक्ष सचेत हुनुपर्नेछ ।’
कोरोना रोक्नका लागि मास्क अचुक अस्त्र भएको भन्दै उनले मास्क सही तरीकाले लगाउन पनि आग्रह गरेका छन् ।