झापा । कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका १५ वटै पालिकाहरुमा लागू हुनेगरि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
छिमेकी मुलुक भारतमा तिब्र दरमा कोरोना भाइरस संक्रमण बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर भारतसँग सिमाना जोडिएको झापामा पनि पर्दै गएपछि सरकारले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
शुक्रबार स्वास्थ मन्त्रालयले जारी गरेको सूचनामा देशका २२ जिल्लाहरुमा अनियंत्रित दरले कोरोना भाइरस संक्रमण बढेको भन्ने ब्यहोराको पत्र प्रेसित गरेलगत्तै झापामा पनि कोरोना संक्रमण अत्याधिक मात्रामा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले वैशाख १९ गते आइतबार मध्यराती १२ बजेदेखि वैशाख २६ गते आइतबार मध्यराती १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
झापामा शुक्रबार एकैदिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट २२ महिला र ३४ जना पुरुष गरि ५६ जनामा संक्रमण पुष्टी भएको छ । एन्टिजेन परीक्षणबाट ५ महिला र २ पुरुष गरि ७ जनामा संक्रमण देखिएसँगै ६३ जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिएका छन् ।
कोरोनाका कारण झापा–४ का ५७ वर्षिय पुरुषको नोबेल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको छ ।