arrow

कोरोना भेरियन्टको हब वालिङ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ वैशाख १९ आइतबार
waling-1619947855.JPG

स्याङ्जा । जिल्लाका ११ पालिका मध्ये वालिङ दोस्रो लहरको कोरोना भेरियन्टको अत्यन्तै जोखिम बढेको छ । अहिले सम्म वालिङ नगरपालिका भित्र सक्रिय संक्रमितको सङ्ख्या १ सय १८ पुगेको छ । जसले गर्दा यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान स्वास्थ्यकर्मीहरुले लगाएका छन् ।

भारतबाट आउने मानिसमा देखिँदै आएको संक्रमण अहिले समुदायमा पुगेको छ । समुदायमै संक्रमण देखिन थालेपछि वालिङ नगरपालिकाले स्वास्थ्य विपद् सङ्कट घोषणा गरेर १८ गते राती देखि २५ गते सम्म अत्यावश्यक बाहेकका सबै बन्द गर्ने घोषणा गरेको छ । जसका कारण वालिङ पूर्ण रूपले बन्द भएको छ । 

नगर प्रमुख दिलिपप्रताप खाँणले एक विज्ञप्ति जारी गरेर अत्यावश्यक बहेको सबै बन्द गरी घर—घरमा सुरक्षित बस्न आग्रह गरेका छन् । १४ वडा रहेको नगरपालिकामा ३, ४ र ६ बाहेक सबै वडामा संक्रमण देखिएको छ । वालिङ ९ को एक गाउँमा आइतबार गरिएको २५ जनाको परीक्षणमा मात्रै १९ जनामा संक्रमण देखिएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । 

वालिङ दोस्रो कोरोना भेरियन्टको हब बन्यो पाण्डेले भने,‘भित्रभित्रै संक्रमण फैलिएको हुन सक्ने अनुमान गरेका छौँ ।’ सामान्य लक्षण देखिए पनि ठुलो समस्या अहिले सम्म संक्रमितमा आएको छैन उनले भने । 

वालिङमा बैङ्क वित्तीय सङ्घसंस्था, सवारी साधन, बजार, विद्यालय, सरकारी कार्यालय लगायत सबै ठप्प छ । सबै नगरवासीलाई सावधानी अपनाएर घरमा बस्न र अत्यावश्यक बाहेक हिँडडुल नगर्न आग्रह गरिएको छ । जिल्लाकै गल्याङ र चापाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । 

अन्य पालिकामा भने कुनै त्यस्तो ठोस कदम चालिएको छैन । सर्तकर्ता अपनाउने सचेतना कार्यक्रम भने गरेका छन् । अहिले सम्म स्याङ्जामा १ सय ८३ कोरोना संक्रमित रहेका छन् । उनीहरूको अधिकांश होम आइसोलेसनमै उपचार गरिरहेका छन् । संक्रमणको सङ्ख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन पनि जिल्लालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालेले बताए ।

 पछिल्लो घटनाक्रम हेर्दा भोलि पर्सिमै लकडाउन हुन सक्ने अवस्था छ प्रजिअ नेपालले भने,‘जुन बेला संक्रमणको सङ्ख्या २ सय पुग्छ सो समयबाट जिल्ला लकडाउन हुनेछ ।’ सबै जिल्लावासी सुरक्षित भएर बस्न अनुरोध गरेका छौँ उनले भने । लुम्बीनी प्रदेश सँगको सिमाना सँग जोडिएको स्याङ्जा निकै जोखिम मानिँदै आइएको छ । 
 



लोकप्रिय समाचार
नयाँ