काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जान थालेपछि शवको व्यवस्थापनमा पनि समस्या हुन थालेको छ । संक्रमितको मृत्युको गति बढ्दै गएपछि बाग्मती किनारमै चिता बनाएर शव जलाउन थालिएको हो ।
संक्रमितको संख्या बढ्दै जाँदा मृत्यूको संख्यासमेत बढ्दै जान थालेपछि पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा जलाइने गरिएको कोरोना संक्रमितको शव बाग्मती नदीको किनारमै जलाउन शुरु गरिएको हो ।
हाल कोरोना संक्रमितको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आइरहेको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार विद्युतीय शवदाह गृहमा मात्रै शवको व्यवस्थापन गर्न समस्या भएपछि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा विद्युतीय शवदाह गृह नजिकै बाग्मती नदी किनारमा शवको व्यवस्थापन शुरु गरिएको हो ।
अहिले दैनिक २० वटा भन्दा बढी संक्रमितहरुको शव सेनाले व्यवस्थापन गर्दै आइरहेको छ भने यो संख्या बढ्दो क्रममा रहेको छ । आइतबार मात्रै सेनाले ३१ वटा शवको व्यवस्थापन गरेको थियो ।