काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाबाट घर फर्कन चाहनेहरूलाई फेरी घर फर्कन मौका दिएका छन् ।
मङ्गलवार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्लाहरूको संयुक्त बैठकले उपत्यका छाड्न चाहनेहरूका लागि फेरी मौका दिने निर्णय गरेका हुन् ।
तर, घर फर्कन चाहनेहरूले आफ्नो सम्बन्धित स्थानीय तहबाट १० दिन क्वारेनटाइन राख्ने प्रतिबद्धतासहितको सिफारिस ल्याउनु पर्ने छ । सो सिफारिसका आधारमा उपत्यकाबाट घर फर्कन चाहनेहरूलाई गन्तव्यसम्म जान सहजीकरण गर्न दिइने निर्णय भएको निर्णयको बुँदामा भनिएको छ ।
मङ्गलवारको बैठकमार्फत उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले १६ वैशाखबाट जारी गरिएको उपत्यकाको निषेधाज्ञालाई २९ वैशाखसम्म लम्ब्याउने निर्णय गरेका थिए ।