काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न पाँच राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ ।
कोभिड–१९ को संक्रमण बढी रहेकाले राष्ट्रियसभा रिक्त एक पदका लागि जेठ ६ गते तय भएको निर्वाचनका लागि उपनिर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्दा कडाइका साथ स्वास्थ्य मापदण्डको प्रयोग गर्न आयोगले ध्यानाकर्षण गराएको हो ।
मंगलबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई पत्र पठाइएको जनाएका छन् । कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउन पनि आयोगको आग्रह छ ।
प्रेस विज्ञप्ति
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना सम्बन्धमा
नेपालभर कोभिड –१९ को संक्रमणको उच्च जोखिम रहेको र काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश शहरहरूमा निषेधाज्ञा समेत लागू भइसकेको यस विषम परिस्थितिमा बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा राजनीतिक दलले उक्त उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि एवं क्रियाकलापहरू जस्तै सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचार–प्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलन लगायतका कार्यक्रम सञ्चालन गर्दा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यान दिई स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गरी स्थानीय तहसम्म उच्च सतर्कता अपनाई यस महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा भाग लिने दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई आयोगले अनुरोध गरी पत्र पठाएको छ ।
(राजकुमार श्रेष्ठ)
सहसचिव एवं प्रवक्ता