arrow

कोरोना संक्रमणका कारण पत्रकार दाहालको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
dinesh dahal.jpg

काठमाडौं । राजधानी काठमाडौंमा बसेर सक्रिय पत्रकारिता गरिरहेका दिनेश दाहालको सुमेरु अस्पतालमा निधन भएको छ । १५ दिनदेखि उपचाररत दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै शनिवार विहान निधन भएको हो ।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । पहिले ओम अस्पताल चावहिलमा भर्ना भएका उनी त्यहाँ भेन्टिलेटरको अभाव भएपछि सुमेरु भर्ना भएका थिए ।

केही दिनअघि सुमेरुमा गरिएको पछिल्लो जाँचका क्रममा कोरोना नियन्त्रण भइ रिपोर्ट नेगेटिभ आएपछि उनलाई भेन्टिलेटरबाट सामान्य वेडमा सारिएको थियो । तर फोक्सोमा समस्या जटिल बनिसकेकाले उनको निधन भएको परिवारका सदस्यहरुले बताएका छन् ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए। दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दाहालको निधनप्रति नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक असल र निडर पत्रकार गुमाउनुपर्दा स्तब्ध बनेको प्रतिक्रिया दिएका छन् ।

कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।



लोकप्रिय समाचार
नयाँ