arrow

कोरोना संक्रमित बोक्न प्रमुख र उपप्रमुख चढ्ने सरकारी गाडीको प्रयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
Ratnanagar_Nagarpalika.png

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ । 

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।

सङ्क्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसहित चारवटा गाडी सङ्क्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका छन् । 

प्रमुख वनले चढ्दै आएको बा २ झ ३३९९, उपप्रमुख दुवाडीले चढ्दै आएको ना१झ १५८६, प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा१२च२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा२झ १२१७ नम्बरको गाडी कोरोना सङ्क्रमितलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

“अब हाम्रा गाडीहरु एम्बुलेन्सका रूपमा प्रयोग गर्दैछौँ”, वनले भने, “कोही पनि नगरवासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन ।” वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । 

सङ्क्रमितलाई छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी प्रयोगमा ल्याइएको उनको भनाइ छ । यसअघि रत्ननगरले कोरोना सङ्क्रमितलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिसकेको छ । 

होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीले उपचार तथा रेखदेख गर्दै आएका छन् । रासस



लोकप्रिय समाचार
नयाँ